प्रदेश नं. २

जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म गुड्ने, सोमबारदेखि दैनिक ६ पटक सेवा दिने


काठमाडौँ – नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।
थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आज महोत्तरी आउन लागेका छन् । उनले आज आज बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन गर्ने कार्यक्रम रहेको महाप्रबन्धक झाले जानकारी दिए । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर यात्रा विस्तार हुने छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि संचालनमा आएको थियो । सुरुमा एकपटक जनकपुरदेखि जयनगर जाने र आउने सेवा दिँदै आएकोक रेल गत वर्ष मंसिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।

सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताए । यद्यपि भंगहा स्टेशनमा भने दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ ।