Breaking

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ – कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आइतबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जानकारी दिएको छ ।

अहिले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली छ। मधेश प्रदेशबाहेकका सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । मधेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

आइतबार राति मधेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका १-२ स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सडक तथा हवाइ यातायात, स्वास्थ्य, कृषि र पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने जनाएको छ । ​हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।