Breaking

राष्ट्रपति पौडेलले पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई पठाए समवेदना सन्देश


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीशोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका छन्।

यसअघि सीता दाहालको निधन भएकै दिन बुधबार टेलिफोनमार्फत समवेदना व्यक्त गरेका राष्ट्रपति पौडेलले शुक्रबार बिहान आफ्नो परिवारका सदस्यसहित राष्ट्रपति कार्यालयका पदाधिकारी प्रधानमन्त्रीको निवास ९बालुवाटार० मै पठाएर लिखित समवेदना दिएका हुन्।

राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरे। जसमा सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै पीडित परिवारका सदस्यप्रति समवेदना प्रकट गरिएको छ।
साथै सन्देशमा राष्ट्रपति पौडेलले सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीता दाहालको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।
‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन्।

प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलको समवेदनापत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरे। प्रधानमन्त्री दाहालले राष्ट्रपतिसँग सीताको सम्बन्ध दाजु(बहिनीको भएकाले पनि राष्ट्रपति भावविह्वल भएको उल्लेख गरे।