Breaking

बस सँग ठोक्किएको ट्रक सप्तकोशीमा खस्यो


काठमाडौँ – सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ।

सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७:४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक देख्न छाडिएको उनले बताए ।
सप्तकोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए । प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको हो ।