Breaking

कहिले लाग्ला नेताको बोलीमा लगाम ? रास्वपा सांसदले विर्सिए पदीय मर्यादा


काठमाडौँ — बोलीमा लगाम लगाउन नसक्दा नेताहरु पटक–पटक विवादित बन्दै आईरहेका छन् । पछिल्लो हप्तालाई मात्रै हेर्ने हो भने पनि बहालवाला मन्त्री र पूर्वराज्यमन्त्री समेत आफ्नै बोलीका कारण आलोचित बन्न पुगे । बोल्यो कि पोल्यो’ भन्ने नेपाली उखान जस्तै अहिले बहालवाला स्वास्थ्यमन्त्री मोहनबाहादु बस्नेत र पूर्व स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीलाई उनीहरुले बोलेको बोलिले निक्कै पोलिरहेको छ ।

उनीहरुको बोलिको आशयभन्दा पनि शब्द चयनले यी दुई राजनीतिकर्मी चौतर्फी विवादको पात्र बनेका हुन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको श्रद्धाञ्जली कार्यक्रममा पूर्वराज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् कार्कीले दिएको प्रतिक्रियाले निक्कै आलोचना खेप्नुपर्यो, सामाजिक संजाल प्रयोगकर्ताहरु उनीविरुद्ध राम्र्रसँग खनिएका छन् । देश नै शोकमग्न भएको समयमा उनको शब्द चयनलाई लिएर आलोचना भईरहेको हो । आफ्नो इरादा कसैलाई गिराउने वा होच्याउने नभएको स्पष्ट गरेपनि उनी आफ्नै बोलीले विवादमा तानिएकी हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतले केही दिनअघि दिएको एउटा अभिव्यक्ति पनि अहिले चर्चामा छ । बहालवाला मन्त्रीकै मुखबाट आत्महत्या दुरुत्साहन गर्ने खालको अभिव्यक्ति आएको भन्दै उनको चर्को आलोचना भईरहेको छ । नेपालको संविधानको धारा १६ मा सम्मान पूर्वक बाच्न पाउने हक तथा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को व्यवस्था विपरित कसुर हुने गरि आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै अहिले राष्ट्रिय चिकित्सक संघले मन्त्री बस्नेतको राजीनामा नै मागेको छ ।

आफ्नै देशका नागरिकलाई आत्महत्या गर्न डोरि किनिदिने र ठाउँ नभए मन्त्रालयकै गेटमा व्यवस्थापन गरिदिने भन्ने खालको मन्त्री बस्नेतको अभिव्यक्ति निन्दनीय रहेको भन्दै धेरैले विरोध गरिरहेका छन् । कर्मचारीतन्त्रलाई निरुत्साहित र सचेत गर्ने उनको अभिव्यक्तिको आशय भए पनि शब्द छनौट गलत हुँदा नकारात्मक सन्देश जाँदा पदको गरिमामा समेत आँच आईरहेको छ ।

एक साता अघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बोली चिप्लिदा उनी ठूलो तनावमा पर्न पुगे । व्यवसायी प्रितम सिंहको नाम लिँदै आपत्ति जनक अभिव्यक्ति दिएपछि प्रतिपक्षीले स्पष्टीकरण मात्रै होइन, राजीनामा नै मागे । संसद् नै नखुल्ने भएपनि पधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलका नेता ओलीसहितसँग छलफल गर्दै संसद वैठकमा स्पष्टीकरण नै दिनुपर्यो । नेताहरु भावनात्मक अभिव्यक्तिबीच शब्द चयनमा चुक्दा जनतामाझ आफ्नो छवि धुमिलाईरहेका छन् ।

राम्रो बोल्न जान्ने कोही छन् भने त्यसलाई नेपाली समाजमा ‘नेता’ को उपनाम दिने परम्परा नै छ । वाक् चातुर्यलाई नेताको उपमा दिँदै गर्दा नेताहरु भने पटक पटक आफ्नै बोलीका कारण विवादमा तानिईरहेका छन् । ओलीको बेसार पानी र अम्बाको पातदेखि रविको प्रवासमा भएका नेपालीलाई टिकट काटेर एयरपोर्टमा लिन जानेसम्मका सबै अभिव्यक्ति क्षणिक र भावनामा डुबेर बोलेका बोली मात्रै हुन् । को नयाँ को पुराना सबै नेता आफ्नै बोलीका कारण आलोचित बन्ने गरेका छन् । भाषा र अभिव्यक्तिमा संम्यमित हुन नेताहरुले पूर्वतयारी नै गर्नुपर्ने देखिन्छ ।