विदेश

जुम्ल्याहा पाण्डा, विश्वभर चर्चा


काठमाडौँ — दक्षिण कोरियामा जन्मिएका जुम्ल्याहा पाण्डाको अहिले विश्वभर चर्चा भइरहेको छ । चीनले सात वर्ष अघि दक्षिण कोरियालाई दिएको पाण्डाले जुम्ल्याहा बच्चा जन्माएको हो । समाचार एजेन्सी सीएनएनका अनुसार राजधानी सोलबाट करिब ४० किलोमिटर दक्षिणमा पर्ने एभरल्याण्ड थिम पार्कको चिडिया घरमा राखिएको ‘ए बाओ’ नामको नौ वर्षीया पाण्डाबाट गत शुक्रबार जुम्ल्याहा बच्चा जन्मिएका हुन् ।

पार्कका निर्देशकले मंगलबार विज्ञप्ति जारी गर्दै १८० ग्राम र १४० ग्रामका दुई बच्चा जन्मिएका र आमा–बच्चाको स्वास्थ्य राम्रो रहेको जानकारी दिएका छन् । सीएनएनका अनुसार पाण्डाले जुम्ल्याहा बच्चा जन्माउने सम्भावना ५० प्रतिशतभन्दा पनि कम हुन्छ । त्यसैले दक्षिण कोरियामा पाण्डाको जुम्ल्याहा जन्मलाई दुर्लभ मानिएको छ । चीनले सन् २०१६ मा दक्षिण कोरियालाई एक जोडी पाण्डा दिएको थियो । पोथी पाण्डकाको नाम ‘ए बाओ’ र भाले पाण्डाको नाम ‘ले बाओ’ थियो ।

यही जोडीबाट अहिले जुम्ल्याहा बच्चा जन्मिएका हुन् । यो जोडीबाट सन् २०२० पहिलो बच्चा जन्मिएको थियो । त्यसको नाम ‘फु बाओ’ राखिएको थियो । अहिले जन्मिएका जुम्ल्याहाको नाम भने राखिएको छैन । एजेन्सी