Breaking

उच्च तहमा छलफल हुँदैछ, राजदूत नियुक्ति तत्काल टुंग्गाउँछौँ : परराष्ट्रमन्त्री साउद


काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड,यूएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको बताए ।

उनले राजदूत नियुक्तिबारे उच्च तहमा छलफल भइरहेको पनि बताएका छन् । राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उनले प्रक्रिया तत्काल टुंगिने बताए ।

‘हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदूत पद रिक्त छ । राजदूत नियुक्तिमा सरकारले परराष्ट्रभित्रबाट ५० प्रतिशत र परराष्ट्र बाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ । त्यही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको छ। यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने ।

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका बताए । विदेशमा रहेका नेपालीहरुको हक, हीतको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए।

‘’विदेशमा रहेका नेपालीहरुको हक, हीत र सुरक्षाप्रति संवेदनशील हुनेतर्फ नेपाली राजदूत तथा नियोग प्रमुखहरुलाई अभिमुखिकरण गरिएको छ। विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दार एवं आवश्यकता अनुसार नेपाल फर्किन सहजीकरण गर्ने कार्यलाई नियोगले उच्च प्राथमिकतामा राखेका छन्’, उनले भने, ‘विदेशका नेपालीहरुको हक, हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध छ। केही नियोगहरुमा टेलिफोन सेवाको अतिरिक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। यसलाई क्रमशः साधन, स्रोत सम्पन्न तुल्याउँदै विस्तार गर्दै लगिनेछ।’

मन्त्री साउदले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिवद्धता पनि जनाएका छन्।