Breaking

सीताका ती त्याग जसले छविलाललाई प्रचण्ड बनायो,धेरैलाई थाहा नभएका सीताका यर्थाथ


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ । पीएसपीबाट ग्रसीत सीता दाहालको बुधबार नर्भिक अस्पतालमा निधन भएको हो । १५ वर्षको उमेर देखि प्रचण्डको प्रत्येक कदममा साथ दिँदै आएकी उनको निधनले दाहाल परिवारसँगै पुरै राजनीतिक दल पनि शोकमा डुबेको छ ।

हरेक पतिको सफलताको पछि पत्नीको हात हुन्छ भन्ने नेपाली भनाईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालले चरितार्थ गरिदिएको छ । १५ वर्षको कलिलो उमेरमै प्रचण्डसँग विवाह बन्धनमा बाधिँएकी सीताले प्रचण्डको सफलताका लागि सुख र आरामदायी जीवनको त्याग मात्रै होइन, सन्तानलाई आवश्यक मातृस्नेहको समेत परित्याग गरिन् । जस्तो सुकै दुख र कष्टको परिस्थितिमा पनि प्रचण्डको साथ नछोडेकी उनै सीताले बुधाबार अन्ततः प्रचण्डको साथ छोडी भौतिक रुपमा सदाका लागि विदा भएकी छन् ।

तीन सन्तानकी आमा सीता दुई छोरी रेणु र गंगा अनि एक सानो छोरा प्रकाशको पठनपाठनसँगै हेरचाह अनि लालनपालनमा ध्यान दिनु पर्ने सीता श्रीमान् प्रचण्डको सपना पुरा गर्न हेतु आफै पनि युद्धमा होमिएकी थिइन् । क्रान्तिका लागि पुरै परिवारलाई नै लिएर युद्ध होमिएका पुष्पकमललाई ‘प्रचण्ड’ बनाउने मुख्य पात्र थिइन् सीता । जनयुद्धमा प्रचण्ड सुप्रिम कमाण्डर थिए तर जनयुद्धकालीन सहयोद्धाहरुले भने सीता सुप्रिमोको पनि कमाण्डर भएको बताउने गरेका छन् ।

जतिसुकै ठूलो सुप्रिमो कमाण्डर नै किन नहोस् आमाको मनलाई सन्तानको वियोगले गलाउने नै रहेछ । ०७० सालमा जेठी छोरी ज्ञानुको क्यान्सरबाट मृत्यु भएपछि लागेको चोटमा खाटा नबस्दै त्यसको ४ वर्षपछि सुतेकै अवस्थामा कान्छो अनि प्यारो छोरो प्रकाशलाई पनि गुमाउनु पर्दा उनी बौरिनै नसक्ने गरि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी)को शिकार हुँदा १५ वर्षदेखिको प्रचण्डसँगको सहयात्रालाई बीचैमा टुंग्याई आफू एक्लै आर्यघाटको यात्रा तय गरिन् ।

कुनै पनि आमाका लागि सन्तान वियोगजस्तो पीडा सम्भवतः केही हुन्न । बाल्यकाल र किशोरवय भूमिगत ढंगले यता उता गर्दै बिताएका प्राणभन्दा प्यारा सन्तानले छोटो उमेरमा नै संसार छाड्नुपरेको पीडाले सीतालाई आर्यघाटसम्मको यात्रा देखयो । द्वन्द्वकालमा सेना मरे वा माओवादी जो मरे पनि नेपालीले नै ज्यान गुमाउनु परेको भन्दै प्रचण्डलाई शान्ति सम्झौतामा ल्याउन उनैले बारम्बार घच्घच्याउने गरेका कुरा लिपिबद्ध नै छ ।

प्रचण्ड पत्नी सीताको नाम माता जानकीसँग मेल त खाएको छ नै स्वभाव पनि मिल्दो जुल्दो नै देखिएको छ । पुरुषोत्तम रामसँग सीता वनबास गए झै प्रचण्ड क्रान्तिमा होमिदा उनीसँगै सीता पनि जंगल पसिन् । भगवान् रामले मातालाई जंगलमा छोड्दा सहर्ष स्वीकार गर्दा प्रचण्ड पत्नी सीताले पनि जंगललाई स्वीकारिन् । स्वार्थी संसारमा बिछट्टै माया गर्ने पत्नीको वियोगले होला प्रचण्डको छवि बनाएका पुष्पकमलको आँखामा पनि आँसु थामिएन ।

१० वर्षको अन्तरालमा आफ्नो जीवनका ३ प्रिय मान्छेलाई गुमाउनुको पीडा प्रचण्डको अनुहारमा छचल्किएको छ । प्रचण्डको ६ जनाको परिवार अब आधा भएको छ । किनकी अब सीतासँगै छोरा प्रकाश र छोरी ज्ञानुले यो संसार छाड्दा प्रचण्डसँग रेणु र गंगा छिन् । यो कम्ती कठोर र पीडादायी क्षण होइन । माओवादी पार्टीले सल्लाहाकार, प्रचण्डले असल पत्नी, अनि रेणु र गंगाले आदर्श आमा मात्रै गुमाएनन् कि नेपालले एक निर्भीक महिलालाई पनि गुमाएको छ ।