Breaking

समाजवादी मोर्चाको बैठक बस्दै


काठमाडौँ – समाजवादी मोर्चाको दोस्रो बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर काठमाडौँमा बस्नेछ ।

बैठकले मोर्चाको कार्यविधि पास गर्ने एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । गत शनिबार बसेको मोर्चाको पहिलो बैठकले कार्यविधिसहित आचारसंहिता, भावी नीति तथा कार्यक्रम तथा सांगठानिक स्वरुप तयार गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले तयार चारवटै प्रस्ताव आजको बैठकले पारित गर्नेछ ।

कार्यदलमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।

कार्यदलले आज शीर्ष नेता सम्मिलित बैठकमा पेश गर्नेछन् । पहिलो बैठकबाट सातै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको मोर्चाले आज कहाँ, कहिले कार्यक्रम गर्ने भन्ने मिति तय गर्ने तयारी पनि गरेको छ ।

सत्तामा रहेका तीन दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा बनेको छ ।