Breaking

बालेन्द्रले पाएनन् वारेसको अनुमति, आफैं सर्वोच्च धाउनुपर्ने


काठमाडौँ – सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई वारेसमार्फत मुद्दा लड्न दिन अस्वीकार गरेको छ ।

अदालतको अवहेलना मुद्दामा उक्त आदेश दिँदै आफैं उपस्थित भएर तारेख लिन भनेको हो । उनले वारेस राखेर मुद्दा लड्न अनुमति माग गरेका थिए ।

अधिवक्ता वर्षाकुमार झाले बालेनविरूद्ध अवहेलना मुद्दा दायर गरेकी थिइन् । रिटमा यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो ।

सर्वोच्चले अदालतको अवहेलना हुने गरी दिएको अभिव्यक्तिवारे जवाफ दिन भनेको थियो। भारतीय फिल्मआदिपुरूषका विषयमा बालेनले आपत्ति जनाउँदै काठमाडौंमा प्रदर्शन गर्न रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बदर गर्दै काठमाडौँमा चल्न नदिने अडान कायम राखेका थिए । यस्तै उनले राष्ट्रियताका सवालमा अदालत र न्यायाधीशलाई पनि नमान्ने टिप्पणी गरेका थिए ।

उक्त टिप्पणीलाई आधार बनाउँदै अदालतमा मुद्दा परेको थियो ।