Breaking

कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि, देउवाले बोलाए शीर्ष नेताको बैठक


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरू हुँदै छ ।

केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ ।

त्यसअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक बस्ने छ । देउवाले बिहान नौ बजे शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई(दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।

गत वर्ष कांग्रेसको कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । यसबीचमा कांग्रेसले कुनै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गर्दै आएको थियो ।