विदेश

नेटो सदस्य हुनका लागि युक्रेनको योग्यता नपुगेको अमेरिकी राष्ट्रपतिको भनाई

योहो संवाददाता

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई उत्तर एटलान्टिक सन्धी संगठन नेटोमा आवद्ध गराउने निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएका छन् । नेटो सम्मेलनको पूर्वसन्ध्यामा बाइडनेले यस्तो प्रतिक्रिया दिएका हुन् । रुस युक्रेन युद्ध करिब पाँचसय दिन नाघेको छ । यो अवधिमा रुस युक्रेन दुबै देशले ठुलो मात्रामा जनधनको क्षति भोग्नु परेको छ । सयौँ दिनसम्मको युद्धले केहि परिर्वतन हुन सकेन । अमेरिकाको चालबाजीको पछि लागेको युक्रेन अहिले उत्तर एटलान्टिक सन्धी संगठन नेटोमा आवद्ध गराउने निर्णय अपरिपक्व भएको अमेरिकाको प्रतिक्रिया सार्वजनिक भएको छ ।

सीएनएनसँगको अन्र्तवार्तामा बाइडेनले भनेका छन् नेटो सदस्य हुनका लागि युक्रेनको योग्यता पुगेकै थिएन । यस्तो अवस्थामा उसलाई सदस्यता दिन खोज्ने निर्णय अपरिपक्व थियो । उनले भनेका छन् युक्रेनलाई नेटोको सदस्यता दिने विषयमा मत भिन्नता छैन । तर युद्ध जारी रहेको अवस्थामा यसले सार्थकता पाउने छैन । शान्ति स्थापनापछि प्रक्रिया अघि बढ्नेछ । युक्रेनको लोकतान्त्रिक आचरणमा सुधार नआइकनै गरिएको निर्णय अपरिपक्व भएको उनको भनाइ छ ।

अहिले नेटो रूसविरुद्ध युद्धमा छ । आपसी हित रक्षाका लागि नेटो लड्ने नै छ । तर युक्रेनमा लोकतान्त्रिक पद्धतिमा सुधार विनै सदस्यता दिने प्रक्रिया अघि बढाउनु हतारो भएको उनको भनाइ छ । नेटोले सन् २००८ मा युक्रेन निकट भविष्यमा नै आफ्नो सदस्य हुने बताएको थियो । युक्रेनले नेटोको सदस्यता लिएको खण्डमा आफुमा सुरक्षा चुनौती थपिने भन्दै रूसले सदस्यता नलिन चेतावनी दिएको थियो । तर हालसम्म पनि उसलाई सदस्यता दिइएको छैन । प्रक्रियाबाट सदस्यता दिँदा रूसविरूद्ध घोषित रूपमै युद्ध गर्नुपर्ने बाध्यताका कारणले नेटोले युक्रेनलाई सदस्यता दिएको छैन ।

नेटो सन्धीको धारा ५ अनुसार कुनैपनि सदस्य राष्ट्रविरुद्ध आक्रमण भएमा सबै सदस्य राष्ट्रले त्यस मुलुकको प्रतिरक्षा गर्नुपर्छ । युक्रेनलाई सदस्यता दिएको खण्डमा रुसविरुद्ध घोषित युद्ध गर्नुपर्ने भएकाले सदस्यताका लागि आनाकानी भइरहेको हो । यद्यपि, नेटोमा आवद्ध मुलुकहरूले युक्रेनलाई सहयोग भने जारी राखेका छन् । अमेरिकाले हालसालै युक्रेनलाई धेरै क्षेत्रफलमा विस्फोट गराउन सक्ने क्लस्टर बम दिने निर्णय गरेको छ । यस्तै उसले ३१ वटा ट्यांक पनि उपलब्ध गराएको छ । यता बेलायत र जर्मनीले पनि ठूलै संख्यामा हतियार र ट्यांक पठाउने भएका छन् ।

युक्रेनलाई सदस्यता दिने निर्णय अपरिपक्व रहेको बताएका बाइडेनलाइ टर्कीलाई भने स्वीडेनको सदस्यता सम्बन्धमा विरोध नगर्न दबाब दिने तयारी गरेका छन् । त्यसका लागि उनले टर्कीका राष्ट्रपति रिसेप एड्रोगानसँग छलफल समेत गरेका छन् । रूसले युक्रेनमा आक्रमण गरेको एक सातापछि फिनल्याण्ड र स्वीडेनले नेटोमा आवद्धताका लागि इच्छा व्यक्त गरेका थिए । फिनल्याण्ड गत अप्रिलमा नेटो सदस्य बन्यो भने स्वीडेनको निवेदन भने अझै स्वीकृत भएको छैन । समर्थकको अग्रपंक्तिमा रहेको अमेरिकाले आगामी दिनमा युक्रेनलाई साथ देला त ?