Breaking

लयमा नारायणकाजी, चर्चामा सुदन किँराती, मोहन बस्नेतलाई गगनकै चुनौती, बेदुरामको रोईलो


काठमाडौँ — प्रचण्ड नेतृत्वको सरकार बनेको ६ महिना बितेको छ । यस बीचमा पटक–पटक मन्त्री हेरफेर भएका छन् । केही मन्त्री चर्चाको शिखरमा रहँदा केही भने गुमनाम छन् । तोकिएको जिम्मेवारी पूरा गर्नु कर्तव्य र दायित्व हो । तर, नेपालमा कुनै व्यक्ति वा संस्थाले आफ्नो जिम्मेवारी अनुसारको काम गरे पनि देवत्वकरण गर्ने प्रविधि बढ्दो छ । तुलनात्मक रुपमा राम्रो नहुँदा केही मन्त्रीले थोरै काम गर्दा पनि चर्चा हुने गरेको छ ।

प्रचण्ड सरकार २५ सदस्यीय छ । जसमा केही मन्त्री चर्चाको शिखरमा रहँदा अधिकांश मन्त्री गुमनाम छन् । केही मन्त्री नाम होस्, बदनाम होस् तर, गुमनाम नहोस् भन्नेमा देखिन्छन ।प्रचण्ड सरकारका सबैभन्दा चर्चित मन्त्री हुन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ । नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणको अनुसन्धान अघि बढाएपछि श्रेष्ठको चर्चा चुलिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत बजेटका कारण चर्चामा छन् ।

बजेट जति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री महतको निर्वाचन क्षेत्रमा मात्रै विनियोजना गरेको भन्दै सत्तारुढ दलकै नेताले आपत्ति जनाउने स्थिति बन्यो । बजेटमा सन्तुलन मिलाउने प्रधानमन्त्रीको आश्वासनपछि मात्रै बजेट पारित गर्न सत्तारुढ दलका सांसदहरू तयार भए । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती स्टन्ट गर्न अग्रभागमा देखिन्छन् ।

मन्त्री पदको शपथअघि नै सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेर सबैको ध्यान खिचेका किरातीले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा फेरि यस्तैगरी सञ्चार माध्यमको ध्यान तान्ने प्रयास गरे । उनले आफ्नो मन्त्रालयको गेटमै सहयोग पेटिका राखे । त्यहाँबाट उठेको पैसाबाट दुर्गम हिमाली जिल्लामा शिक्षा क्षेत्रमा काम गर्ने जनाए । कार्यभार सम्हालेकै दिन उनले आफूले खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा पनि गरे ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहन बहादुर बस्नेतको ध्यान पनि चर्चा कमाउनेतिर केन्द्रित देखिन्छ । उनी अनुगमन र निरीक्षणमा बढी केन्द्रित भएका छन् । स्वास्थ्य सम्बन्धित जनताको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको मन्त्री बस्नेतको दाबी छ । सत्तापक्षकै सांसद नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अहिलेको मन्त्रीहरुले काम गर्न नसकेको दाबी गर्छन । आफैले घोषणा गरेको कार्यक्रममेत सरकारले कार्यान्वयन गर्न नसकेको उनको आरोप छ ।

कांग्रेसका सांसद मात्रै होइन, सत्तारुढ अन्य दलका सांसद पनि सरकारको कामबाट सन्तुष्ट छैनन् । मन्त्रीहरूको कार्यशैली यस्तै रहे सरकार छाड्ने चेतावनी सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसदको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारका मन्त्रीले मात्रै होइन, अघिल्ला सरकारका मन्त्रीले पनि चर्चामै आउनका लागि हल्ला गरेका उदारण धेरै छन् । चर्चाकै लागि मात्र गतिविधि गर्दा त्यसले दीर्घकालीन रुपमा नकारात्मक असर पर्न सक्छ । यसतर्फ सम्बन्धित सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।