Breaking

हेलिकप्टर दुर्घटनामा सबै ६ जनाको मृत्यु, मृतकहरूको शव काठमाडौं ल्याउन समस्या

योहो संवाददाता

काठमाडौँ — सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा सवार रहेका सबै ६ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट सिबि गुरुङ र पाँच मेक्सिकन नागरिकको मृत्यु भएको हो । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको (नाइन एन एएमभी) हेलिकप्टर विहान १० बजेर १३ मिनेटमा सम्पर्कविहीन भएको थियो । हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ लामजुरा नजिकै दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको खबर आएलगत्तै काठमाडौंबाट उद्धारका लागि गएको हाइ अल्टिच्युड एयरको दुई वटा हेलिकप्टर मौसममा आएको खराबीका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीले हेलिकप्टर अवतरण गर्न नसक्दा मृतकहरूको शव काठमाडौं ल्याउन समस्या भएको बताए ।

अहिले हेलिकप्टर सोलुखुम्बुकै भाकान्जेमा अवतरण गरेको र घटनास्थलबाट हेलिकप्टर अवतरण गरेको ठाउँसम्म गाडीमा शव ल्याउने व्यवस्था मिलाइएको तिवारीले जानकारी दिए । उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पनि प्रयोग भइरहेको प्राधिकरणले जनाएको छ ।