Breaking

२० वर्षपछि बारुद खानाबाट खुल्यो बाटो


काठमाडौँ – नेपाली सेनाको स्वयम्भु बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मूल सडकसँग जोडिने गरी सडक खुला भएको छ ।

जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन ।

अहिले भने जर्मन क्वाटरको पूर्वतर्फको सिमानाको मूल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको आयोजना प्रमुख निर्मलराज बरालले जानकारी दिए ।

नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि काठमाडौं महानगरपालिकाका प्रमुख एवं आयोजनाको जग्गा व्यवस्थापन उपसमिति संयोजक बालेन शाहले स्थलगत निरीक्षण गरी प्रधानसेनापतिसँग छलफलसमेत गरेका थिए । त्यसपछि सडक खोल्ने वातावरण तयार भएको मेयर बालेनको सचिवालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नं। १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भु भगवान पाउ बनस्थली सडक, उत्तरमा बालाजु-बनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू-भगवान पाउ-बिजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा छ ।

२०६० साल वैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट सूचना जारी भएको थियो । यसपछि शहरीकरणबाट विकास व्यवस्थापन र सुविधा वितरणमा समानता ल्याउन आयोजना भित्रको ७२ प्रतिशत प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्याएर जग्गा विकासको काम थालिएको थियो । यसमा २४.४७ प्रतिशत सडकका लागि, २ प्रतिशत पार्क तथा खुल्ला क्षेत्रका लागि, ०.५० प्रतिशत धार्मिक तथा सांस्कृतिक क्षेत्रका लागि र १.०३ प्रतिशत भचाखुशी नदीका छुट्याइएको छ ।

आयोजना सुरु हुनुअघि त्यस क्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२ प्रतिशत भाग ओगटेको थियो । सडकले ४.६५ प्रतिशत, कुलोले १.१५ प्रतिशत, पर्ती जग्गाले ०.३१ प्रतिशत र भचाखुशी नदीले १.४७ प्रतिशत क्षेत्र ओगटेको थियो ।

जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्क वापत् समानुपातिक प्रतिशतका दरले योगदान लिइएको छ । यो दर भनेको खुल्ला क्षेत्र वापत् २.५ प्रतिशत, पूर्वाधार निर्माण वापत ५ प्रतिशत, बाटो वापत् ३.३५ प्रतिशत प्रतिमिटर सडक र कर्नर प्लटका लागि थप योगदान २.७५ प्रतिशतदेखि ९.६ प्रतिशतसम्म हो ।