Breaking

सीआईबीले भन्यो : ललिता निवास प्रकरणलाई अतिरञ्जित नबनाउनू


काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले सोमबार विज्ञप्ति जारी गरी ललिता निवासको १४३ रोपनी जग्गाबारे सीआईबीले अनुसन्धान गरिरहेकाले उक्त प्रकरणलाई अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।

‘केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रस्तुत कसुरको तथ्यगत विषयलाई अन्यत्रै मोडी कसुरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीको नामसमेत जोडी अतिरञ्जित र भ्रामकरूपमा केही समाचार प्रकाशित भएकोमा ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

ब्यूरोले ललिता निवास प्रकरणको अनुसन्धानका क्रममा विभिन्न निकाय र व्यक्तिबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्तरूप दिने कार्यमा थप प्रेरणा मिलेको बताएको छ र आगामी दिनमा समेत सहयोग हुने विश्वास लिएको छ ।

सीआईबीले ललिता निवास प्रकरणमा प्रत्यक्षरूपमा संलग्न व्यक्ति तथा पदाधिकारीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्पूर्ण सचेत नागरिकको सहयोगको अपेक्षा गरेको छ । साथै तथ्यपरक, निष्पक्ष र व्यावसायिकरूपमा प्रस्तुत कसुरको अनुसन्धान अगाडि बढाउने कार्यमा प्रतिबद्ध रहेको समेत उसले बताएको छ ।