Breaking

भारतको सिमलामा पहिरोमा परी ३ नेपालीको मृत्यु


काठमाडौँ – भारतको हिमाञ्चल प्रदेशस्थित सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ ।

सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार गएको पहिरोमा परी रूकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो ।

सोमबार बिहान १० बजेतिर आएको पहिरोमा पुरिएर त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको हो ।

उनीहरूको परिवार नै रोजगारीको सिलसिलामा भारत गएका थिए। देबबहादुर र भिमाका जेठा छोरा लोकेन्द्र वली पनि भारतमै उनीहरूसँगै बस्दै आएका थिए । तर, सोमबार बिहान पहिरो आउँदा बाहिर भएकाले जोगिएको खबर आफूले पाएको वडाध्यक्ष हरिबहादुर खड्काले जानकारी दिए ।

उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको थियो । कान्छा छोरा मोहन भने यसै वर्षमात्र एसईई परीक्षामा सहभागी भएर भारत गएका थिए । अहिले गाउँमा भने बुहारीमात्रै रहेको खड्काले बताए । क्यारामा विगत तीन–चार दिनदेखि निरन्तर अविरल वर्षा भइरहेको छ ।