Breaking

प्रचण्डको जवाफः सदनबाटै भागे ओली, देउवा उपस्थित नै भएन, एमाले सांसदको मुख बन्द


काठमाडौँ — प्रमुख ३ दलका शीर्ष नेताबीचको बैठकले सोमबार प्रतिनिधिसभाको गतिरोध अन्त्य भयो । सोमबारको बैठकमा नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिबारे प्रश्न गरे भने प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो बोलीबारे स्पष्टीकरण दिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूलाई बोल्ने अवसर नै नदिएर ३ दिनसम्म किन संसद बैठक अवरुद्ध गरेको ? भनेर प्रतिपक्षी दलहरुलाई नै प्रतिप्रश्न गरे ।

भारतीय नागरिक प्रितम सिंहको नाम लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक ३ दिनसम्म अवरुद्ध भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आईतबार र सोमबार २ पटक छलफल गरेसँगै सोमबार दिउँसो संसदको अवरोध हट्यो, बैठक सुचारु भयो । बैठक सुरु हुने वित्तिकै नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डले पद् त्याग गर्नुपर्ने आँट गर्नुपर्ने माग गरे ।

सत्ता स्वार्थका निम्ति देशको सार्वभौमिकता साट्न नसकिने भएकाले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने एमालेका सांसद गोकुल बास्कोटाले माग गरे ।प्रधानमन्त्री प्रचण्ड वातावरणले, व्यवहारले, अभ्यासहरुले, कुराहरुले, लघुताभासले, आत्मसमर्पणवादले देशको हितमा नरहेकाले आफूहरुले सिंगो संसद र देशबासीलाई विश्वासमा लिने गरी आफ्नो अभिव्यक्तिको स्पष्टिकरण दिनका लागि संसद सूचारु गराएको नेता बाँस्कोटाले बताए ।

प्रमुख ३ खलका शीर्ष नेताहरुले तारन्तार वैठक बसेर संसदको गतिरोध अन्त्य गरेकोमा अर्का प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको भने चित्त दुखाई रह्यो । रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा धेरै दलहरू रहेको भन्दै बाइपास नगर्न चुनौती दिए । सोमबार संसद बैठकमा बोल्दै नेताद्वयले संसदमा तीन दल मात्रै नरहेको भन्दै बाइपास गरेर अगाडि नबढ्न चुनौती दिए ।

जवाफ दिन रोस्टममा उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारेस्पष्टीकरण दिन खोज्दा अवसर नदिएकोमा आपत्ति जनाए । आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजे पनि सदन अवरुद्ध गरेर मौका नदिएको भन्दै उनले बोल्ने अवसर नै नदिएर ३ दिनसम्म किन संसद बैठक अवरुद्ध गरेको ? भनेर प्रतिपक्षीलाई नै प्रतिप्रश्न गरे ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले असार १८ गते आफुले बोलेको विषय भावनात्मक भएको जवाफ दिएका छन् । प्रतिनिधिसभामा स्पष्टीकरण दिँदै आफूले त्यस दिन नबोलेको भएपनि हुने तर उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको बताए ।आफ्नी छोरीलाई क्यान्सर हुँदा सरदार प्रितम सिंहले आश्रय दिएकाले भावनात्मक सम्बन्ध गाँसिएको भन्दै उनले उनै सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली र काठमाडौंमा समेत कुरा गरेको विषय आफूले सार्वजनिक कार्यक्रममा गरेको बताए ।

सोमबारको बैठकमा मिटरब्याजी पीडितलाई न्याय दिन ल्याईएको अध्यादेशको समय सकिएपछि उत्पन्न समस्याबारे समेत प्रधानमन्त्री प्रचण्डले जवाफ दिए । अध्यादेश नै पास हुन नदिनेगरी प्रतिपक्षीले संसद अवरोध गरेको भनेर व्याख्या भईरहँदा प्रतिपक्षले आफूहरुको नियत त्यस्तो नभएको भनेर प्रष्टीकरण दिन खोजे भने संसद अवरोध भएकै कारण अध्यादेश निश्कृय हुन पुगेको प्रधानमन्त्री प्रचण्डले आशय प्रकट गरे ।

प्रतिपक्षको प्रश्न र प्रधानमन्त्री प्रचण्डको जवाफमै निर्धारित समय सकिएपछि सोमबार कार्यसूचीमा रहेका क्रम संख्या २ देखि ५ सम्मका विषयबस्तुलाई सूचीबाट हटाईयो । अर्को बैठक असार २९ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी सोमबारको बैठक स्थगित भएको छ ।