Breaking

नयाँ संसद भवनमा प्रचण्ड, ठेकेदारलाई थर्काए, हिउँदे अवसन यहिँ बस्नुपर्छ


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अवलोकन गरेका छन् । १ महिनाअघि गएको जेठ १८ गते मात्रै सभामुख देवराज घिमिरेले अवलोकन गरेर काममा तदारुकदा देखाउन निर्देशन दिएकोमा सोमबार फेरि प्रधानमन्त्री प्रचण्ड पुगेर छिटो काम सम्पन्न गर्न भनेका हुन् । विभागीय मन्त्रीसहित लिएर सिंहदरबार पुगेका प्रधानमन्त्री प्रचण्डले यो या त्यो बहाना नबनाईकन छिटो काम सक्याउन भनेका हुन् । सिंहदरबारस्थित निर्माणाधिन संसद भवनका लागि सरकारले भुक्तानी गर्न कुनै आनाकानी गरेको छैन ।

तर सबै भुक्तानी समयमा नै दिइरहँदासमेत निर्माण पक्षले निर्धारित समयमा काम सम्पन्न गर्न सकिरहेको छैन । १ महिनअघि गएको जेठ १८ गतेमात्रै सभामुख देवराज घिमिरेले निर्माणाधिन निरिक्षण गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यसमा चासो देखाएका छन् । सोमबार निर्माणधिन भवनको निरीक्षण एवम् अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेकोले भवन निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिए । नयाँ संसद् भवन देशको गौरव भएकाले युद्ध स्तरमा काम गर्नका लागि कुनै सम्झौता नगर्न भन्दै उनले देशको एक मात्र सार्वभौम संस्थाको आफ्नै भवन नहुनु नमीठो कुरा रहेकाले आफूले आफ्नै संसद् भवन निर्माण गर्न पहल गरेको स्मरण गरे ।

मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोषारोपण गर्दा भवन निर्माणको काम सुस्त गतीमा अघि बढिरहेको छ । यसअघि पनि निर्माणधिन संसद भवनका लागि सरकारले २ पटकसम्म म्याद थप्ने काम गर्यो । तर, निर्माणको कामले गती लिन सकेन । यसअघि कोरोनाले निम्त्याएको परिस्थितिलाई बहाना बनाउँदै आएको भएपनि त्यो बहानासमेत सकियो । अहिले फेरि मन्त्रालय र ठेकेदार कम्पनीबीचको एक अर्काप्रतिको दोषारोपणले काममा ढिलाई भईरहेको छ ।

अवलोकनमा सहभागी शहरी विकास मन्त्री सीता गुरुङले श्रमिकको संख्या बढाएर भएपछि जतिसक्दो छिटो भवन निर्माणको काम सक्याउन आग्रह गरिन् । अब ठेक्का समय थप्न नसक्ने र आउँदो हिउँदे अधिवेशन नयाँ संसदबाट नै शुरु गर्ने सरकारको योजना रहेको भन्दै उनले निर्माणको काम सुस्त रहेकोमा असन्तुष्टि जनाईन् ।

सिंहदरबार भित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको छ । सिंहदरबारभित्रको पुतली बगैचामा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेसँगै राष्ट्रिय सभा तथा संघीय संसद् भवनको निर्माण कार्य सुरु भएको हो ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष राखिएको भएपनि प्रगती सोचेअनुसार हुन नसकेपछि प्रधानमन्त्री, मन्त्रीदेखि सभामुखसम्मले यसप्रति चासो देखाईरहेका छन् । १ सय ७३ रोपनी क्षेत्रफलमा फैलिएको भवनमा संघीय संसद् भवन, प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत ११ भवन हुनेछन् । हाल निर्माण भइरहेको संघीय संसदमा ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक हल बन्दैछ ।