Breaking

सिन्धु विकास बैंकमा निक्षेपकर्ताको अढाइ करोड रुपैयाँ गायव, बैंकका कर्मचारीहरु पक्राउ


काठमाडौँ – बचतकर्ताको रकम अपचलन भएको भन्दै प्रहरीले सिन्धु विकास बैंकका कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उक्त बैंकको बाह्रबिसे शाखाका प्रमुख रुक्सा श्रेष्ठसहितलाई पक्राउ गरेको हो ।
बाह्रबिसे शाखा सिन्धु विकास बैंकको एक मात्रै शाखा हो । प्रारम्भिक अनुसन्धानमा शाखाबाट साढे दुई करोड रुपियाँभन्दा बढी हिनामिना भएको पाइएको प्रहरीको भनाई छ । पक्राउ पर्ने घटनामा संलग्न प्रदमबहादुर प्रधान, बैंकका अन्य कर्मचारीहरुमा एलिसा बस्नेत र अस्फना श्रेष्ठ छन् ।

बैंककी अर्की कर्मचारी नीतिका श्रेष्ठसहित घटनामा संलग्न अरु व्यक्तिहरुलाई भने पक्राउ गर्न नसकिएको जनाइएको छ । उनीहरुलाई पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीका अनुसार बचतकर्ताको रकम बैंकका कर्मचारीहरुले आफ्ना श्रीमानको नाममा रहेको बैंक खातामा ट्रान्सफर गरेर ब्याज खाने र अन्य कार्यमा रकम निकालेर प्रयोग गरेको पाइएको हो । पीडितहरुले उजरी गर्न थालेपछि प्रहरीले अनुसन्धान थाल्दा हिनामिना गरेको तथ्य भेटिएको हो ।