Breaking

भगवती लेमिनेट्स २५ करोड राजस्व छली प्रकरणः बैंक स्टेटमेन्ट र खाता विवरण दिन अझै आलटाल


काठमाडौँ – २५ करोड बढी राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई नै चुनौती दिन थालेको पाइएको छ । उनीहरूले विभिन्न शक्तिकेन्द्रहरूसँग आफुहरुको सम्बन्ध रहेकाले जतिसुकै राजस्व छली गरे पनि आपूmहरू उम्कन सक्ने बताउन थालेका छन् ।

आर्थिक अपराध बाट उम्कन उनीहरूले विभिन्न खाले सेटिङको प्रयाससमेत थालेको बताइएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्सका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर छानबिन गर्दै आइरहेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले बयानका लागि भगवती लेमिनेट्स प्रालिका सातै जना सञ्चालकलाई बोलाए पनि चार जना सञ्चालक अनुपस्थित भएर सरकारी निकायलाई नै चुनौती दिने काम गरेका छन् ।

हालसम्म इटहरी कार्यालयले हेर्दै आइरहेको सो मुद्दालाई अब राजस्व अनुसन्धान विभागले केन्द्रीय रूपमा नै हेर्ने तयारी गरिरहेको छ । विभागले यस सम्बन्धमा इटहरी कार्यालयसँग आवश्यक जानकारी लिने काम गरिरहेको बताइएको छ ।

छानबिनकै क्रममा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले सो विवरण दिन आलटाल गरिरहेका छन् । राजस्व अनुसन्धान कार्यालयले दुई साताअघि नै सबै सञ्चालकसँग विवरण माग गरे पनि हालसम्म उनीहरूले कुनै विवरण बुझाएका छैनन् ।

विवरण बुझाउनुको साटो भगवती लेमिनेट्सका सञ्चालक शक्तिकेन्द्र कहाँ पुगेर उम्कने प्रयास गरिरहेको स्रोतले जानकारी दिएको छ ।

सञ्चालक रजनीश कर्नानी, सन्तोष आचार्य र रतनलाल अग्रवाल बयानका लागि गएका थिए भने बाँकी सञ्चालक निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाल हालसम्म पनि बयानका लागि गएका छैनन् ।

भगवती लेमिनेट्सले एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड बढीको कारोबार गरी झन्डै २५ करोड राजस्व छली गरेको आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको हो ।

लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको र एकपछि अर्कोगरी राजस्व छली गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल मार्फत एक वर्षमा ८० करोड बढीको कारोबार गरेको प्रमाण फेला परिसकेका छन् । सोही प्रमाणकै आधारमा राजस्व कार्यालयले छानबिन अघि बढाएको हो ।

भगवती लेमिनेट्सले आर्थिक वर्ष २०७७/७८ मा मात्रै सरकारलाई राजस्व छली गर्ने उद्देश्यले ८० करोड बढीको कारोबार कच्चा बिलमार्फत गरेको पाइएको थियो ।

सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।

भगवती लेमिनेट्सका कन्ट्री म्यानेजर विकास सिंहको नाममा करोडौंको चेक काट्ने गरेको प्रमाणसमेत फेला परेका छन् । सिंहलगायत कम्पनीका अन्य कर्मचारीको नाममा समेत थप चेक काटेर राजस्व छली गर्ने गरिएको छ ।

सो लेमिनेट्सले राजस्व छल्ने उद्देश्यले कारोबार गरिएका डिलरलाई संस्थाको नाममा नभई कन्ट्री म्यानेजर सिंह र अन्य कर्मचारीको नाममा चेक काट्न लगाउने गरेको छ । भगवती लेमिनेट्सको ट्याक्स प्लानिङ नीतिअनुसार सिंहको व्यक्तिगत नाममा चेक काट्ने गरिएको हो । त्यसरी विभिन्न डिलरले भुक्तानीका क्रममा भगवती लेमिनेट्सका नाममा चेक नकाटी सिंहको नाममा काट्ने गरेका कैयांै चेकको विवरण नै सार्वजनिक भइसकेको छ । भगवती लेमिनेट्सँग मिलिमतो गरी व्यक्तिको नाममा करोडौंको चेक काट्ने कैयांै डिलर पनि छानबिनमा तानिने भएका छन् ।