Breaking

अघिल्ला दिनको तुलनामा आज र भोलि बढी पानी पर्ने


काठमाडौँ – आज र भोलि अघिल्ला दिनको तुलनामा देशभर बढी पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

तर लगातार झरी पर्ने सम्भावना भने छैन । ‘आज र भोलि देशका धेरै स्थानहरुमा केहीबेर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने हुन्छ,’ मौसमविद रोजन लामिछानेले भने । मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्व भूभागतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले अघिल्ला दिनको तुलनामा आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।

मौसमविद बिनु महर्जनका अनुसार मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाश क्षेत्रलाई बुझिन्छ । त्यो रेखा नेपालतर्फ सर्यो भने नेपालमा बढी पानी पर्दछ । अहिले मनसुनी रेखा भारततर्फ छ । त्यसैले भारतमा अत्यधिक वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।

तर नेपालमा अत्यधिक वर्षाको सम्भावना तत्काल नरहेको अर्का मौसमविद विनोद पोख्रेलले ट्वीटरमा उल्लेख गरेका छन् ।

मौसमविद लामिछानेका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आजै राति कोशी, मधेश, गण्डकी र लुम्बिनीमा एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनको समयमा बाढी पहिरोको जोखिम रहने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ ।