विदेश

रासायनिक हतियारमुक्त देश बन्दै अमेरिका, अन्य देशले के गर्लान् ?


अमेरिका रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ । अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया पूरा गरेसँगै रासायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो । मानव शरीरको प्रमुख प्रणालीमा आक्रमण गर्न विषाक्त वा रासायनिक सामग्री (तत्व) मिलाएर बनाइएको रासायनिक हतियार हो । यस्ता रासायनिक हतियारले विशेष गरी फोक्सोलाई आक्रमण गर्छ वा निशाना बनाउँछ । यस्तै छाला डढाउने, दृष्टिविहीन बनाउनेसहितका घातक प्रतिक्रिया रासायनिक हतियारका कारण आउँछ । रासायनिक हतियारमा सबैभन्दा घातक प्रकारका रुपमा ‘नर्भस एजेन्ट्स’ रहेको छ ।

यसले मानव शरीर र मस्तिष्कबीचको सञ्चार अवरुद्ध गर्छ । यसको सानो थोपा पनि घातक बन्न सक्छ । युद्धको अवस्थामा गोलाबारी, बम वा मिसाइलमार्फत हुने रासायनिक वा जैविक हतियारको आक्रमण ठूलो संख्यामा मानवीय तथा जैविक क्षतिको कारक बन्ने हुँदा संयुक्त राष्ट्रसंघले रासायनिक हतियार अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आएको छ । तर यस्को अन्त्य भने हुन सकेको छैन । पछिल्लो सयम अमेरिका रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार जुलाई ७ बाट अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने भएको हो ।

रक्षा विभागले हतियार नष्ट गर्न ३ लाख करोड अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ, जुन निर्धारित बजेटभन्दा २९०० प्रतिशत बढी हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना सेप्टेम्बरसम्म आफ्नो रासायनिक हतियार हटाउने घोषणा गरेका थिए । सन् १९७० को दशकमा सेनाले पुरानो जहाजमा रासायनिक हतियार लोड गरेर समुद्रमा डुबाउन चाहेको थियो । तर जनताको विरोधपछि त्यसो हुन सकेको थिएन । त्यसपछि यी रासायनिक हतियारलाई भट्टीमा राखेर जलाउने प्रस्ताव गरिएको थियो । यो पनि स्वीकृत हुन सकेन । हाल अमेरिकाले रासायनिक हतियार नष्ट गर्न रोबोटिक मेसिनको सहयोग लिएको छ ।

गोलाहरूमा राखिएका यी हतियारहरूलाई १५०० डिग्री फरेनहाइट तापक्रममा जलाइने छ । अमेरिकी सेनाले सन् १९१८ देखि युद्धमा घातक रासायनिक हतियार प्रयोग गरेको छैन । तर, भियतनाम युद्धका क्रममा उसले मानवका लागि खतरनाक मानिने एजेन्ट ओरेन्ज जस्ता रासायनिक हतियारको प्रयोग गरेका थियो । सन् १९८९ मा अमेरिका र सोभियत संघले आ–आफ्ना रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमत भएका थिए तर तिनीहरूलाई नष्ट गर्न भने त्यति सजिलो छैन ।

तिनीहरूलाई नष्ट गर्ने एक मात्र तरिका जलाउनु हो जसले विषाक्त धुवाँ उत्सर्जन गर्दछ । सबै प्रकारका रासायनिक हतियारहरुको प्रयोगमा ‘केमिकल विपन्स कन्भेन्सन अफ १९९७ ले गम्भीर प्रतिबन्ध लगाएको छ । यसलाई रुससहितका विश्वका अधिकांश देशले हस्ताक्षर गरेका छन् ।