Breaking

कांग्रेसभित्र ठूलो परिमार्जनको आवश्यक, परिवर्तन नभए आगामी चुनावमा पत्तासाफ, देउवालाई हटाउने रणनीति


काठमाडौँ — नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाको पूर्वजानकारी विना नै सम्पन्न जिल्ला सभापति बैठकबाट कांग्रेसमा विद्रोहको आवाज गुञ्जिएको छ । पटक पटक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठ्दा पनि बेवास्ता गरेपछि युवा पुस्ता त्यसको प्रतिकारमा उत्रिएको विश्लेषण गरिएको छ । नेपाली कांग्रेसको जिल्ला सभापति बैठक १४ बुँदे सङ्कल्प गर्दै सकियो । बिहीबार र शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीलाई एकताबद्ध बनाउने, संगठन सुढृकीकरण गर्दै जनमुखी काम गर्ने र ‘बदलिएको बलियो कांग्रेस बनाउने’ लगायत सङ्कल्प गरेको छ ।

तर, पार्टीलाई एकताबद्ध बनाउने संकल्प लिँदै गर्दा सभापति शेरबहादुर देउवा भने दुई दिनसम्म चलेको बैठकमै अनुपस्थित रहे । नेतृत्वको कार्यशैलीप्रति सार्वजनिक असन्तुष्टि जनाउँदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानले दिएको अधिकार प्रयोग गर्दै जिल्ला सभापतिहरुको बैठक बोलाएका थिए । महामन्त्रीहरुले आफ्नो जिम्मेवारी र अधिकार प्रयोग गरेर गतिविधि बढाउन थालेपछि देउवा सशंकित देखिएका छन् ।

जसका कारण दवावमा परेका देउवाले वर्षदिनदेखि बस्न नसकेको केन्द्रीय कार्यसमितिको बैठक पनि असार २७ गतेका लागि बोलाएका छन् । जिल्ला सभापतिहरुसँग भेला गर्नुपुर्व पार्टीको केन्द्रीय समिति बैठकबाट निर्णय गर्नुपर्ने पूर्वअभ्यास भए पनि महामन्त्रीद्वयले केन्द्रीय समितिको सम्मुखमै जिल्ला सभापतिहरुको भेला राखेका हुन् । पार्टीभित्र विद्रोहको कदम चालेको गगनले फेरि पनि पार्टीको संसदीय दलको नेता बदल्ने संकेत गरेका छन् ।

बैठक राख्न तथा विधि, विधान र पद्धतिअनुसार पार्टी सञ्चालन गर्न बारम्बार गरेको आग्रह र सुझावको सुनुवाइ नभएपछि महामन्त्रीहरुले सभापति देउवालाई नै ‘क्रस’ गरेर अघि बढ्न खोजेको सन्देश दिएका छन् । महामन्त्रीको पदमा पुगेर पनि मुख मात्रै बजाउने आरोप खेप्दै आएका थापा र शर्माले रचनात्मक विद्रोहको शंखघोष गरेका छन् ।

सभापतिको पूर्वजनाकारी विना महामन्त्रीको नेतृत्वमा बसेको जिल्ला सभापतिहरुको बैठक यो नै पहिलो पटक हो । पार्टी संगठन शिथिल भईसकेको अवस्थामा महामन्त्रीहरुले बोलाएको बैठक वैधानिक रहे पनि पार्टीको केन्द्रीय कार्यसमितिमा छलफल गरेर बोलाएको भए अझै राम्रो हुने पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माको बुभाई छ ।

सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहेको युवा पुस्ताले पार्टी सुढृडीकरणका लागि ठूलो चुनौतीसमेत दिएका छन् । सरकारमा भएकै बेला जनताको विश्वास जित्न सके कांग्रेसको विरासतलाई अघि बढाउन सकिने अन्यथा, पार्टी र सरकार यथास्थितिमा नै चल्ने हो भने, आगामी निर्वाचनमा जुनसुकै पार्टीसँग गठबन्धन गरे पनि चुनाव जित्न नसकिने भन्दै नेतृत्वलाई सच्चिन युवापुस्ताले चेतावनी दिने गरेका छन् ।

हरेको कुराको निश्चित समयपछि परिवर्तन जुरुरी छ । नेपाली राजनीतिमा ठूलो विरासत बोकेको कांग्रेसभित्र पनि परिवर्तन महसुस गरिएको छ । नयाँ पुस्ताले कांग्रेसभित्र देखाएको जोशलाई परिवर्तनको संकेत ठानेका विश्लेषकले अब भने पार्टी परिमार्जित हुने पर्ने तर्क गर्छन् ।

कांग्रेसलाई जीवितै राख्ने हो भने समयअनुसार नै परिवर्तन हुन अतिआवश्यक छ । यदि समय अनुसार परिवर्तन वा परिमार्जित हुन नसक्ने हो भने पार्टीको औचित्य नै समाप्त हुने निश्चित छ । त्यसैले पार्टी नेतृत्वले यसलाई मध्य नजर गर्दै अगाडि बढ्नु पर्ने देखिन्छ ।