Breaking

संसदमा स्पष्टीकरणको मौका नदिई एकपक्षीय प्रचार गरिनु दुर्भाग्यपूर्ण होः प्रधानमन्त्री सचिवालय


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो अभिव्यक्तिबारे संसद्मा बोल्ने मौकासमेत नदिई एकपक्षीय रूपमा प्रचारप्रसार गरिएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको छ । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार प्रेस नोट जारी गर्दै संसद्प्रति जवाफदेही प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न नदिई भनाइको आशयविपरीत प्रचार गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको हो ।

प्रेस सल्लाहकार आचार्यले व्यवसायी प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । प्रितम सिंहसँग दाहालको पारिवारिक सम्बन्ध रहेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

पुस्तक विमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रूपमा संसद् अवरोध गर्दा मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक संसद्बाट पारित नभई निस्क्रिय भएको आचार्यको भनाइ छ । विधेयक पारित हुन नसक्दा मिटरब्याजपीडित लाखौं नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको भन्दै प्रधानमन्त्रीको सचिवालयले दुःख व्यक्त गरेको छ ।