Breaking

मिटरब्याज पीडितलाई मन्त्री श्रेष्ठको आश्वासन : निराश नहुनुस्, न्याय र विजय सुनिश्चित छ


काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएसँगै राजनीतिक दलको चरित्र स्पष्ट भएको प्रतिक्रिया दिएका छन् । बुधबार राति सामाजिक सञ्जालमा लेखेर उनले ‘को पीडितको पक्षमा, को विपक्षमा’ भन्ने प्रष्ट भएको बताएका हुन् ।

‘आज म धेरै आहत भएको छु । आज प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुनुपर्थ्यो । तर गरिएन’, उनले लेखेका छन्, ‘आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्क्रिय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ ।’

विधेयक निष्क्रिय भए पनि आयोगले काम जारी राख्ने, प्रजिअ कार्यालयमा सहजीकरण समितिको काम निरन्तर अघि बढाउने उनले बताएका छन् । मन्त्री श्रेष्ठले विधेयक संसदको प्रक्रियामा रहेकाले अघि बढाएर कानून बनाएरै छाड्ने बताएका छन् ।

‘सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ’, उनले लेखेका छन्, ‘पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरहरूले सोचेका छन् भने त्यो ठूलो भ्रम हो ।’

उनले निराश नहुन र सक्रियताका साथ मुक्ति अभियानमा निरन्तर लागिरहन अपिल गरेका छन् । ‘न्याय र विजय सुनिश्चित छ’, उनले भनेका छन् ।