Breaking

बालेनको निशानामा प्रचण्डदेखि गगनसम्म, एक्लै भिड्दै छन् सुकुम्बासदेखि हुकुम्बासीसम्म


काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साह एकपछि अर्को कदममा पौठेजोरी खेल्दै अघि बढिरहेका छन् । पालिका प्रमुखमा निर्वाचित भएलगत्तै वडा अध्यक्षहरुसँग सुरु भएको मुकाविला सर्वोच्च अदालतको कदमसम्म नै पुगेको छ । केन्द्रीय सरकारसँग समेत डटेर अघि बढेका मेयर बालेनको कदमलाई पटक–पटक अदालती आदेशले रोक्ने काम भएको छ । एकपछि अर्को कदममा मुकाविला गर्दै अघि बढ्नु काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको देनिकी नै बनिसक्यो । व्यक्ति, संस्थादेखि राजनीतिक दल र नेताहरुसँग कानुनी र वैचारिक लडाईंका लागि उनी मैदानमा छन् ।

महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएलगत्तै कार्यपालिकामा आफ्नै वडाध्यक्षहरुसँग विवाद गर्दै एक वर्ष पार गरेका उनले यो अवधिमा केन्द्रीय सरकारदेखि उच्च पदस्थ व्यक्तिहरुसँगसमेत मुकाविलाको सामना गर्नुपर्यो । उसो त उनले सामाजिक संजालमार्फतसमेत आफ्नो वैचारिक युद्ध गरिरहेका हुन्छन् । प्रायः शुक्रबार राति र शनिबार आउने स्टाटसमा उनले सांकेतिक, व्यांग्यत्मक र व्यक्तिलाई पनि इंगित गर्न भ्याउँछन् । यो हप्ताको शनिबार पनि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राम्रैसँग झटारो हाने ।

उसो त मेयर बालेन आफूलाई मन नपरेको विषयमा यति बेमतलबी छन् कि, प्रधानमन्त्रीले बोलाएको बैठक नै बहिष्कार गर्न पछि पर्दैनन् । सिंहदरबारभित्रको फोहोरको विषयमा केन्द्रीय सरकारसँग असन्तुष्टि जनाएका उनले प्रधानमन्त्रीले बोलाएको बैठक नै वहीस्कार गर्न पुगेको घटना अझै पनि ताजै छ । उसो त जे काम गर्न खोजे पनि मेयर बालेनमाथि अवरोध नै अवरोध खडा हुने गरेको छ । टुकुचा खोलाको उत्खननदेखि सुकुम्बासी बस्त हटाउने कदमलेसमेत अन्तिम रुप लिन सकेन ।

सडकमा व्यापार गर्न बसेका फुटपाथ व्यापारीसँग काठमाडौं महानगरको पौठेजोरी त झनै हेर्न लायक नै छ । निरन्तर फुटपाथ व्यापारीको सामाज जफत गर्ने कदम अघि बढाउँदासमेत उनीहरु काठमाडौं महानगर प्रहरी र महानगरको निर्णयलाई टेर्न तयार छैनन् । मेयर बालेन शैक्षिक संस्था, चलचित्र हल सञ्चालकदेखि अदातलसम्मै भिड्न पुगेका छन् । सार्वजनिक रुपमा नै अदालतको निर्णय मान्दिनँ भनेर हिँडेका बालेनमाथि मुद्दै मुद्दाको चाङ छ ।

संस्था व्यक्ति वा राजनीतिज्ञ सबैसँग मेयर बालेन भिडिरहेका छन् । बालेनको पैठेजोरी देशभित्र मात्रै सीमित छैन, छिमेकी मुलुक भारतसँगसमेत आफ्नो निडरता देखाईरहेका छन् । भारतीय सिनेमामार्फत नेपालको सांस्कृति हस्तक्षेपलाई लिएर भारतसँग पत्रमार्फत जुहारी खेलका महानगर प्रमुखले उल्लेख्य काम गरेको भन्ने जनताले अपेक्षा गरिरहँदा विश्लेषक भने केही फरक तर्क गर्छन् । बालेनले सामान्य काम गरेपनि उनलाई नायकीकरण गर्न खोजेको उनीहरुको बुझाई छ ।

को नयाँ को पुराना उनको निशानामा हरेक पर्छन् । गगन, महेश बस्नेतदेखि वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि उनी जुध्न भ्याएका छन् । अहिले आत्मीय बनेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँग पनि कुनैबेला निक्कै वार चलेको थियो । तर अहिले उनीहरुबीचको बेमेल सकिएको छ भने एकले अर्काको समर्थनमा बोल्न थालेका छन् । उसो त काम गर्ने इच्छाशक्ति मेयर बालेनको जस्तै हुनु पर्ने भए पनि कार्यशैली भने बदल्नुपर्ने आवाज उठिरहेकै छन् ।

बालेनको कार्यशैलीप्रति राजनीतिक दलका नेता, सांसद्, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले पटक–पटक प्रश्न उठाउँदै आएका छन् । विरोधीको प्रतीकको रुपमा नै हेरिन थालेका मेयरविरुद्ध अदालतमा मुद्धाको चाङ छ । तीन सरकारसँग समन्वय गरेर अघि बढ्नु पर्ने भए पनि उनी एकलौटी ढंगबाट अघि बढेको आरोप लाग्ने गरेको छ । उनले गरेको कार्यलाई जनताले वाहवाही गरेका त छन् तर, सुकम्बासीदेखि राज्य संचालनको बागडोर सम्हालेर बसेका सबैसँग उनको भिडाई कहाँ गएर टुंगिने हो पत्तो छैन ।