Breaking

आज मुलुकी संहितासम्बन्धी ऐन संशोधन गर्ने विधेयक पारित गर्ने तयारी


काठमाडौँ – आज संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का बैठक बस्दै छन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे सुरु हुने छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ बारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी आज प्रतिनिधि सभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ बारे प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने उक्त विधेयक पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूचीमा पनि छ ।

यस्तै आजै दिउँसो साढे २ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ । आजको बैठकमा विनियोजन विधेयकबारे छलफल जारी रहनेछ । यसअन्तर्गत आज विधेयकका विभिन्न शीर्षकमध्ये पाँच मन्त्रालयको विनियोजनबारे छलफल हुनेछ ।

सार्वजनिक सम्भावित कार्यसूचीअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयका विनियोजनबारे छलफल गर्न लागिएको हो ।