Breaking

एसिसी यू-१६ मा नेपालले गर्‍यो उपाधिमा ह्याट्रिक


काठमाडौँ – नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने यू-१६ स्तरको प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ ।

मंगलबार घरेलु टिम मलेसियामाथि २२१ रनको सानदार जित निकाल्दै नेपाल एसिसी यू-१६ इस्ट जोन कप च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्न सफल भयो । यसअघि एसिसीको आयोजनामा हुने गरेको यू-१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो ।

नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो । नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ रन र ‍२०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो । मंगलबार मलेसियाको बायुमास ओभलमा भएको उपाधि भिडन्तमा नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको घरेलु टिम मलेसिया १४।५ ओभरमा ३१ रनमै अलआउट भयो ।

मलेसियाका लागि मोहमद अक्रमले सबैभन्दा बढी १० रन जोडे । अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए । मलेसियाको ब्याटरमाथि हाबी हुने क्रममा नेपालका कप्तान अभिषेक तिवारीले ५ विकेट लिए । उनले ६ ओभरमा १ मेडन राख्दा ७ रन मात्र दिए । सन्तोष यादवले ३ विकेट लिए । उनले ३ ओभरमा २ मेडन राख्दा ९ रन दिए ।

अशोक धामी र सागर गैरेले १-१ विकेट लिन सफल भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोड्यो ।

नेपालका लागि नरेश भट्टले शतक प्रहार गर्न सफल भए। उनले नटआउट ११२ रन जोड्ने क्रममा ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे । त्यसअघि ओपनरद्वय सूर्यान्सु कोइराला १८ रन र निरजकुमार यादव ४७ रन जोडेर आउट भए ।

दीपु कुमार ५ रन र प्रतिक भट्टराई १ रनमा रनआउटको सिकार भए। यस्तै सन्तोष यादवले २६ रनको योगदान गर्दा कप्तान अभिषेक तिवारी ४ रन र अशोक धामी ११ रनमा आउट भए । बलिङमा मलेसियाका मोहमद अक्रमले ३ विकेट लिए।