Breaking

तीन दलका शीर्ष नेतालाई सभामुखले बोलाए सिंहदरबार


काठमाडौँ – सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।

सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी हुने बताइएको छ ।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन् । गठन गरिएको दुई सातापछि जेठ २ गते एकसाथ १० वटै समितिका बैठक सुरु भएका छन्। तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकबारे छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटकपटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।