समाचार

तिनाउ नदीले सतर्कता तह पार पर्‍यो


काठमाडौँ – बुटवलको तिनाउ नदीले सतर्कता तह पार गरेको छ ।

तिनाउ नदी बाढीमापन केन्द्रका अनुसार अविरल वर्षापछि पाल्पा हुँदै बग्ने तिनाउ नदीको जलसतहले बिहान ३ बजे बुटवलमा सतर्कता तह पार गरेको हो ।

सतर्कता तह पार गरेको र सतह बढ्दै गएकाले खतरा पुग्न सक्ने भन्दै जल तथा मौसम विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपासका बस्तीमा डुबान हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्लो ६ घण्टामा स्याङजा, तनहूँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपास अति भारी वर्षा भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणले जनाएको छ । पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएको भन्दै दिउँसो १ बजेसम्म सतर्कता अपनाउन भनिएको छ ।