Breaking

नेपालले मलेसियाविरूद्ध ब्याटिङ गर्दै


काठमाडौँ – एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियाविरूद्ध ब्याटिङ गर्दैछ ।

नेपालले टस जितेर ३५ ओभरको खेलमा पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले हराएर नेपालसँगको भेट पक्का गरेको हो । मलेसिया पनि समूह ए मा नै थियो ।

समूह चरणमा नेपालले मलेसियामाथि ८४ रनको फराकिलो जित निकालेको थियो । नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ भने मलेसिया नेपालसँग मात्र पराजित भएको थियो ।

नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिँदै उपाधि उचाल्ने छ भने मलेसिया नेपालसँग हारको बदला लिन चाहन्छ । उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । एसीसी यू-१६ इस्ट जोन मा पनि नेपालले उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य राखेको छ र त्यो लक्ष्य पूरा हुनबाट नेपाल एक कमदम मात्र टाढा छ ।

एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा हराएर उपाधि जितेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो । जारी प्रतियोगितामा धेरै रन बनाउने शीर्ष ९ को सूचीमा नेपालका दुई खेलाडी छन् । मलेसियाका कुनै पनि खेलाडी यो सूचीमा छैनन् ।