देश

बालेनलाई प्रधानमन्त्री बनेको हेर्ने रहर,सुन्दर भयो काठमाडौँ शहर, महानगरवासीमा उत्साह


काठमाडौँ — महानगरपालिकालाई सुन्दर र हराभरा बनाउन महानगरले सडकको दुवै पेटीमा विरुवा रोप्ने कामको थालनी गरेको छ । धुलाम्मे र हिलाम्मे हुने काठमाडौँका फुटपाथमा रोपिएका फूलहरुको विरुवाले महानगरलाई स्वच्छ र रंगीविरंगी देखिएको छ भने महानगरका बासिन्दा पनि प्रफुल्लित छन् । हिजोआज काठमाडौं महानगरपालिकाका विभिन्न सडकमा कतै ढकमक्क फुल फुलिरहेको देख्न सकिन्छ भने कतै भर्खरै रोपिएका बोटबिरुवाले हरियाली बाँढिरहेका छन् ।

काठमाडौंको वडा नं. २८ मा पर्ने बागबजारलगायत आसपास क्षेत्र र वडा नं. १० मा पर्ने नयाँ बानेश्वर क्षेत्रमा गमलामा विरुवा रोप्ने काम भईरहेको छ । सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत महानगरपालिकाले महानगरका विभिन्न सडक किनारामा बोटविरुवा रोप्ने कामलाई तिव्रता दिएको छ । हरियाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरले सडक किनारका दायाँ बायँ दुवै तर्फ फूल लगायतका आकर्षक देखिने विरुवा लगाएको हो ।

‘हरियाली बन जीवन धन’ भन्ने नारा त खुबै सुनियो । हरियाली बन नै बनाउन नसकेपनि ठाउँ–ठाउँमा बिरुवाहरु रोपेर शहरलाई स्वस्थ र स्वच्छ बनाउने प्रयासमा महानगरपालिका लागिपरेको हो । दिन दुईगुणा र रात चौगुणाको दरले काठमाडौंको प्रदूशण बढ्दै गएको र बेलाबखत प्रदुशणको सूचक विश्वकै शीर्ष स्थानमा पुग्ने गरेको तथ्यांकलाई मध्यनजर गर्दै महानगरपालिकाले चालेको यो कदमलाई धेरैले स्वागत गरेका छन् । काठमाडौँलाई पुनः हराभरा र महानगरवासीलाई निरोगी पार्न महानगर अघि बढेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धर बताउँछन् ।

फल फल्ने, फुल फुल्ने र बास्ना आउने बिरुवा रोपेर महानगरपालिकाभित्रको वातावरण स्वच्छ बनाउने एवम्वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास महानगरको छ । काठमाडौँ शहरलाई सधै धुलाम्मे र हिलाम्मे देखिरहेका महानगरवासी सडकका पेटीमा राखिएका गमला, त्यसमाथि रोपिएका रंगीविरंगी फूलर विरुवा देख्दा धेरैले आफ्नो मनलाई प्रफुल्लित बनाएका छन् । सडक छेउमा फूल र विरुवाका कमलाहरु देखेपछि महानगरवासीसाच्चै नै आफूहरुले नयाँ नेतृत्व पाएको महसुस गर्न थालेका छन् ।

पेशा र अध्ययनले स्ट्रक्चरल इञ्जिनियर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले चालेका एकपछि अर्काे कदमलाई महानगरवासीले स्वागत गरिरहेका छन् । मेयर भनेको बालेन जस्तो हुनुपर्छ भन्दै उदाहरण दिन थालेका छन् । महानगरवासीले बालेनजस्तो मेयर पाउनु गौरवको कुरो भएको भन्दै अर्का स्थानीय पनि विस्तारै काठमाडौँको मुहार फेरिनेमा ढुक्क भएका छन् ।

काठमाडौंका केही ठाउँमा देखिएका विरुवाका गमलाहरु माटाबाट बनेका छन् । तत्कालका लागि विरुवा माटाको गमलामा रोपे पनि क्रमशः सिमेन्टको गमला हुँदै पछि खाल्टो नै खनेर विरुवा रोप्ने महानगरको योजना छ । महानगरले अहिलेसम्म कपूर, धुपी, समी लगायत विभिन्नप्रजातीका फुल र मौसमी फलफुल गरि ३० हजार विरुवा रोपिसकेको छ ।

पुतलीसडक, बागबजार, भृकुटीमण्डप, राष्ट्रिय सभा, नयाँ वानेश्वर, कोटेश्वरलगायत सडक पेटीमा विरुवा रोपेर महानगरले यसलाई निरन्तरता दिइरहेको छ । काठमाडौं महानगरपालिकाले यसअघि पनि हरित विद्यालय अभियान नै चलाएको थियो । आशा गरौँ, हराभरा काठमाडौंका लागि मेयर बालेन साह र उनको टिमबाट अझ अरु अभियान संचालन हुनेछ ।