Breaking

नेपाली क्रिकेटमा अर्को सफलता, उपाधिका लागि मलेसियासँग भिड्दै


काठमाडौँ — मलेसियामा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेको छ । बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । सिमित स्रोत र साधनको बाबजुत पनि खेल क्षेत्रमा नेपाली क्रिकेट टिमले विश्व चिनाउने प्रयास गरिरहेको छ । यसअघि विश्वपक खेल्ने सपना बोकेर अघि बढेको नेपाली टोली अहिले नै त्यो लक्ष पुरा गर्न सक्ने अवस्थामा नरहेपनि विभिन्न देशहरुमा हुने गरेका खेलहरुमा आफ्नो दक्षता प्रस्तुत गरेका छन् । अहिले मलेसियामा १६ वर्षमुनीको एसीसी इस्ट जोन कप क्रिकेट चलिरहेको छ ।

सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाईनल पुगेको छ, यसले नेपाल पनि क्रिकेटका लागि सक्षम छ भन्ने सन्देश गएको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले आयोजक मलेसियासँग उपाधि भिडन्त पक्का गरेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले उत्कृष्ठ प्रदर्शन गर्यो । नेपालले दिएको १ सय ८५ रनको लक्ष्ये सिंगापुरले भेट्टाउन सकेन, उसले ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट हुनुपर्यो । सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए ।

कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए । सिंगापुरका अन्य ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि पनि खेलाडीहरुले निक्कै सम्हालेर खेलेका थिए । नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । नेपालका ओपनर सुर्याशु कोईरालाले ४९ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४३ रन बनाए ।

नेपाललाई ओपनर कोइराला र निरज यादवले पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरेका थिए । सूर्याशु हर्ष वेंकटरामको बलमा रियान नैकबाट क्याच आउट हुन पुगे । निरजले भने ४९ बलमा ३ चौकाको सहयोगमा ४२ रन बनाए । पहिलो विकेट गुमाएपछि कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । विकेट किपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे । नरेन भट्ट ३ रनमा हरिहरनको बलमा कट एण्ड बोल्ड आउट भए ।

कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८ तथा प्रतिक भट्टराई १२ रनमा आउट भए । दीपु कुमार १२ तथा कृतिक कामत ५ रनमा आउट भए । सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २/२ विकेट लिए । जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरेको छ । अर्को सेमिफाइनलका विजेता मलेसियासँग नेपालले उपाधीका लागि खेल्नेछ ।

पराजित सिंगापुरले भने तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि मंगलबार नै सिंगापुरले अर्को सेमिफाइनलमा पराजित हङकङसँग खेल्नेछ । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो । आवश्यक पूर्वाधारको अभावमा समेत नेपालले देखाएको प्रदर्शन प्रशंसनीय छ । अबका दिनहरुमा क्रिकेट क्षेत्रको वृद्धि र विकास भयो भने नेपाली क्रिकेटलाई विश्वले चिन्ने कुरालाई नकार्न सकिन्न ।