Breaking

नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब


काठमाडौँ — नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँभन्दा बढी भएको हो । पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्ताको भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको भाउसमेत बढ्ने गर्छ । तर निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भाउ घटिरहँदा पनि पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन ।

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजलमा १३ रुपैयाँ, मट्टीतेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य हवाई इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमासमेत निगम प्रतिसिलिन्डर सात सात रुपैयाँ नाफामा छ । निगमले आईओसीको झन्डै २४ अर्ब रुपैयाँ बक्यौता पनि तिरिसकेको छ । गएको सेप्टेम्बर महिनादेखि निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको कारोबारमा नाफा कमाइरहेको छ ।