Breaking

४७ वर्षपछि “नाचिदेऊ मैच्याङ” को नयाँ संस्करण सार्वजनिक (भिडियोसहित)

संगीत क्षेत्रमा पाल्मु र छिरिङको नयाँ सफलता


काठमाडौँ – “नाचिदेऊ मैच्याङ तिमी डम्फुको तालैमा, माया तिमी लाइदेऊ मलाई बिहे गर्छु आउने सालैमा” झण्डै पाँच दशकदेखि रेडियो नेपालमा सुन्दै आएको “नाचिदेऊ मैच्याङ” गीतको नयाँ संस्करण सार्वजनिक भएको छ ।

२०३३ सालमा मीरा राणासँग वरिष्ठ संगितकार, गीतकार एवं गायक शम्भुजीत बास्कोटाले रेडियो नेपालमा रेकर्ड भएको गीत ४७ वर्षपछि शम्भुजीतले रिमेक गरेका हुन् ।

सेलो भाकामा आधारित गीतको नयाँ संस्करणमा मीरा राणाको ठाउँमा शम्भुजितसँग पाल्मु शेर्पाको स्वर सुन्न पाइनेछ । बास्कोटासँग गाउन पाउँदा अत्यन्तै खुशी लागेको शेर्पा बताउँछिन् । उदयमान गायिक पाल्मुका ‘दार ठेकीको मोही (हिमाली नादिङ गीत), ‘मोही त पार्ने मदानी’, ‘ल्होसार मेलामा’जस्ता गीत चर्चित छन् ।

पाल्मु गायिकसँगै एक सफल ब्युटिसियन पनि हुन् । उनले काठमाडौँको बौद्धमा ‘नुमुज ब्युटी स्किन केयर एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालन गर्दै आएकी छिन् ।

म्यूजिक भिडियोमा हरि हुमागाईंको निर्देशन रहेको छ भने भिडियोमा नायक पल शाह र ‘डान्सिङ स्टार्स’ नेपालका विजेता तथा मोडल छिरिङ शेर्पाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ । ‘डान्सिङ स्टार्स’ नेपालका विजेता छिरिङले दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् ।

अहिलेको पुस्तालाई संस्कृति र लोकलयबारे जानकारी दिन यो गीत पुनः रेकर्ड गरेको वरिष्ठ संगितकार शम्भुजीत बास्कोटाले बताए । बास्कोटाले आफु संगीतमार्फत नयाँ पुस्तासँग जोडिन चाहेको कारण पनि यो गीत पुनः रेकर्ड गरेको बताए ।
उनले भने, ‘त्यतिबेला जुन मेलोडी र लोकलयमा हामीले बनाएका थियौं । त्यही आधारमा पुनः एकपटक गाउन सकिन्छ कि भनेर नयाँ कलाकारसँग मिलेर गाएको हुँ ।’

पछिल्लो समय मिडिया, सामाजिक सञ्जाल र रियालिटी शोमा कभर गीतको शैलीमा गीत गुञ्जिन थालेपछि आफूले गीत रिमेक गरेको उनले बताए । म्युजिक भिडियो ओएसआर डिजिटलमार्फत बजारमा आएको छ ।