Breaking

ललिता निवासमा भीआईपीको पोल खुल्दै, ओली डामिँदै, यति–ओम्नीको फाइल खोल्ने प्रचण्डको तयारी 


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणपछि ललिता निवासको फाइल खोलेपछि प्रधानमन्त्री प्रचण्डको चौतर्फि चर्चा भइरहेको छ । उनी अझै अरु भ्रष्टाचारका फाइल खोल्ने तयारीमा छन् । एमाले अध्यक्ष ओलीसम्मलाई अनुसन्धानमा तान्ने प्रचण्डको तयारी देखिन्छ । तर त्यसपछि जेल जाने पालो पनि प्रचण्डकै आउने विश्लेषण पपिन भइरहेको छ । एक रिपोर्ट ।

देउवाका दाहिने बालकृष्ण खाँण र ओलीकाअति प्रिय टोपबहादुर रायमाझीलाई जेलको चिसो हावामा सडाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उत्कट इच्छाशक्ति ललिता निवासको फाइलमाउत्पन्न भएको छ ।भाटभटेनीका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित ४ जना पक्राउ गरि थुनामा पठाएका उनले अब विष्णु पौडेलसम्मको जिनाहराम गर्दैछन् । बालुवाटारभित्रको जग्गा सेटिङ गर्दा कमिशनमा आठ आना खाएको भन्दै माओवादीले प्रमुख तारो पौडेललाई बनाएको छ । र त्यो शिलशिला केपी ओलीसम्मै पुग्ने प्रक्षेपण भइरहेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न पूर्वमन्त्री खाँण र रायमाझीसहित १६ जना अहिले कारागार चलान भएका छन् । फरार ११ जना अझै प्रहरीको खोजी सूचीमा छन् । ठिक यसैबेला सामसुम पारिएको ललिता निवासको फाइल खुल्दा पहिलो लटमै सात जना पक्राउ परेका छन् । यसलाई भ्रष्टाचारका विषयमा सरकार निर्मम बन्दै गएको अर्थमा बुझिएको छ ।किनकि प्रधानमन्त्रीको रफ्तार यतिमै रोकिने देखिएको छैन ।

ललिता निवासपछि यति र ओम्नीको फाइल खोल्ने तयारी भइरहेको चर्चा व्यापक रुपमा बढेको छ । जसको उद्देश्य ओलीसम्म तान्ने रहेको माओवादीका नेताहरु बताउँछन् । ओली प्रधानमन्त्री भएकै बेला यति र ओम्नी काण्ड मच्चिएको थियो । जसमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि नेता भानुभक्त ढकालसम्म जोडिएका छन् । छानबिन हुँदै जाँदा ओलीसम्मै अनुसन्धानको दायरामा आउने देखिएको र त्यहि मिशनमा प्रचण्ड रहेको नेताहरु बताउँछन् । तर दम भए कारबाही गरि देखाउन नेताहरु चुनौती दिइरहेका छन् ।

यति समूहलाई पोस्दै ओली नेतृत्वको सरकारले सरकारी सम्पत्तिका रुपमा रहेको गोकर्ण फरेस्ट रिसोर्टलाई २५ बर्ष लिज अवधि थपिदिएको थियो ।ऐन नै संसोधन गरि अमुक व्यापारीलाई सरकारी सम्पत्ति भोगचलन गर्न दिएको भन्दै व्यापक विरोध पनि भयो । ललिता निवासको तीन सय रोपनी जग्गा व्यक्तिका नाममा पठाउने सेटिङ तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई गर्दा झण्डै तीन हजार रोपनी जग्गा कौडीको भाउमा यतिलाई दिने काम ओली नेतृत्वको सरकारले गरेको थियो । दरबारमार्गमा रहेको नेपाल ट्रष्टको जग्गा यति समूहलाई दिने काम ओली नेतृत्वको सरकारकै रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए । पोखरेलकै नेतृत्वमा कोरोनाकालका बेला स्वास्थ्य सामाग्री खरिदमाथि अनियमिततासमेत भएको थियो ।

कोरोना लागेर नागरिक सिटामोल नपाएर मर्ने अवस्थामा पुग्दा २३ लाख ९४ हजार डलर बराबरको स्वास्थ्य सामाग्री खरिदको जिम्मा ओम्नी समूहले पाएको थियो । पोखरेल र तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको तजबिजमा बजार भाउभन्दा महंगोमा सामान खरिद गरि ठूलोमात्रैमा भ्रष्टाचार गरिएको आशंका अहिले पनि भइरहेको छ । तर छानबिन सामसुम पारिएको छ । उस्तै परे त्यो फाइल पनि खुल्ने प्रधानमन्त्री निकट नेताहरु बताइरहेका छन् ।सही अनुसन्धान भए त्यसले पनि ओलीसम्मै तान्ने बुझाई छ ।

प्रधानमन्त्री प्रचण्ड यहि रफ्तारमा अघि बढे खुल्न बाँकी कुनै फाइल हुनेछैनन् । यति, ओम्नी र वाइडबडीहुँदै पशुपतिको जलहरीसम्मका फाइलमाथि अनुसन्धान चल्नेछ । पक्राउ पर्न र जेल जान बाँकी नेताहरु भेटिन छोड्नेछन् । तर जब प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढल्नेछ, सबैभन्दा पहिला जेल जाने पालो प्रचण्डकै हुनेछ । उनीमाथि पनि माओवजादी लडाकु शिविरमा भ्रष्टाचार गरेको आरोप छ । बुढीगण्डकीमा ९ अर्ब भ्रष्टाचार गरेको आरोप प्रचण्डकै सहयात्री बाबुराम भट्टराईलेसमेत लगाएका थिए ।अहिले ललिता निवास प्रकरणमा जेल जाने पालो आएपछि बाबुराम चुप छन् । तर सबैका फाइल खोलेर आफै जेल जान प्रचण्ड तयार छन् कि छैनन् भन्ने विषय प्रधान बनेको छ ।