Breaking

कोशीमा सत्ताको रस्साकस्सी, फेरि मुख्यमन्त्री बन्ने हिक्मतको हिम्मत, कांग्रेस र माओवादी के गर्लान् ?


काठमाडौँ — संसदमा आवश्यक बहुमत सदस्यको विश्वास पाउन नसकेपिछि कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । विश्वासको मत लिने क्रममा मुख्यमन्मत्री हिक्मत कार्कीले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ४६ सांसदको मत पाए । कोशी प्रदेशमा अब कसको नेतृत्वमा सरकार गठन होला भन्ने आम चासो चुलिएको छ ।

कोशी प्रदेशमा हिक्मत कार्की नेतृत्वको सरकार ढलेसँगै विपक्षी कित्तामा रहेको नेपाली कांग्रेस, नकपा माओवादी केन्द्रलगायत दलहरुले आफूहरुको नेतृत्वमा नयाँ सरकार गठनको कसरत सुरु गरिसकेका छन् । शुक्रबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले आवश्यक बहुमत सांसदको विश्वास पाउन नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको हो ।

संविधानको धारा १६८ को २ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था उल्लेख छ । त्यहि व्यवस्थामै टेकेर मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कांग्रेस, माओवादी केन्द्रको माग छ तर, त्यसरी बनेको मुख्यमन्त्रीलेसमेत विश्वासको मत पाउन नसक्ने अवस्था रहेकोले सिधै उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्नुपर्ने एमालेले माग गरेको छ ।

नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दललाई नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गर्दै गर्दा उसले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।यदि उपधारा ३ अनुसार एमालेकै नेतृत्वमा नयाँ सरकार गठन भए पनि उसले विश्वासको मत लिन नसके कोशी प्रदेशमा मध्यावधिक चुनाव हुन सक्छ । सत्ता बाहिर रहेका नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलका सांसदहरुले बरु मध्यावधि चुनावमा जान तयार हुँदै प्रतिपक्षमा भोट हालेका हुन् ।

कोशी प्रदेशमा नेकपा एमालेको ४०, राप्रपाको ६, कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टी जसपाको १ सांसद रहेका छन् । कोशी प्रदेशमा देखिएको सत्ता संकटको असर केन्द्रमासमेत देखिने छनक देखिएको छ । किनभने प्रदेशसभामा जनता समाजवादी पार्टीले १ सांसद हुँदामसेत उसले बार्गेनिङको राजनीति सुरु गरेको छ । यस्तो अवस्थामा कोशी प्रदेशमा सर्वदलीय सरकार गठन हुने, जसपाको साथ पाएर एमाले नेतृत्वको सरकार फेरि अघि बढ्ने या मध्यावधिमा जाने भन्ने विकल्प रहन सक्छ ।