Breaking

एमालेप्रति धनराज गुरुङको कटाक्ष– भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन


काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने बताएका छन् ।

नेकपा एमालेमा सत्तामा जाने भोक जागेको बताउँदै मन्त्री गुरुङले भोको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ, ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो ।’

वर्तमान सरकार सुशासन दिने र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने उनले बताए ।

‘सरकार भ्रष्टाचारका ठूला काण्डहरुको निष्पक्ष छानबिन गरी मुलुकलाई शुसासन दिने काममा लागेको छ । हामी नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्ने काममा लाग्नेछ, यो नै गठबन्धन सरकारको ध्येय हो । एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गरी हामी सुशासन दिनेछौं,’ उनले भने । सुशासनपछि मात्रै विकास निर्माणले गति लिने उनको भनाइ छ ।