Breaking

आज राष्ट्रिय धान दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै


काठमाठडौँ – आज असार १५ गते, देशैभर २०औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइँदै छ ।

शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । तर, यस वर्ष अझैसम्म पर्याप्त पानी नपर्दा देशैभर रोपाईं प्रभावित भएको छ ।

उपत्यका, उच्च पहाडी भेग र तराईका अधिकांश भागमा रोपाईं सकिनु पर्नेमा यो वर्ष आधा पनि रोपाईं हुन सकेको छैन । मध्य पहाडी भागमा भने असार आखिरबाट रोपाई सुरु हुने गर्दछ । सरकारले विसं २०६१ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको हो ।

असार १५ लाई मानो रोपेर मुरी उब्जाउने दिन पनि भन्ने गरिन्छ । धान नेपालको प्रमुख खाद्य बाली र खाद्य सुरक्षाको प्रमुख आधार भएकाले सरकारी तहबाटै यसलाई बढी महत्व दिने गरिएको छ ।

नेपालमा तराई, भित्री मधेस र पहाडका टार तथा फाँट धान खेतीका लागि उत्तम मानिन्छन् । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिने गरिन्छ ।