Breaking

मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिँदैनः इन्द्रबहादुर आङ्बो


काठमाडौँ — नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले संघीय सरकारको गठबन्धनमा रहेका दललाई साथ दिनु आफूहरुको कर्तव्य रहेको बताए ।

राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा गठबन्धन परिवर्तन भएपछि ढिलोचाँडो प्रदेश सरकारबाट आफूहरु बाहिरिनुनै पर्ने आङ्बोले बताए । आफूले सहज वातावरण बनाएर सरकारबाट बाहिरिएको पनि उनले दाबी गरे ।

‘जुन गठबन्धनले साथ दिएर त्यो सरकार बनेको छ । त्यो गठबन्धनले नयाँ राजनीतिक कोर्स सुरुवात गर्न आग्रह गरेपछि स्वभाविक रुपमा हामी त्यो आग्रहबाट बाहिर जान सक्दैनथ्यौं’ उनले भने ।

नेता आङ्बोले कोशी नामकरणको विपक्षमा रहेकाहरुको माग सम्बोधनका लागि नाममा पुनर्विचार गर्नुपर्ने बताए । उनले एमालेको व्यवहार र कार्यशैलीका कारण पनि सहकार्य टुटेको दाबी गरे ।