Breaking

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीलाई जसपाले विश्वासको मत नदिने


काठमाडौँ — जनता समाजवादी पार्टीले कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ । एमालेका मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामार्फत् विश्वासको मत लिँदैछन्। जसपाका प्रदेश अध्यक्ष दीपक याक्खाले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू मतदानमा सहभागी नहुने बताएका छन् । पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेका जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन् ।

जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जेठ २३ गते माओवादी केन्द्र पनि सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए।९३ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ। एमालेको ४० र राप्रपाको ६ गरी मुख्यमन्त्री कार्कीसँग ४६ सांसदको समर्थन छ । जसपाले अन्तिम समयमा भए पनि समर्थन गर्ने एमालेको अपेक्षा भए पनि बहिस्कार गर्ने निर्णयले कार्की नेतृत्वको सरकार ढल्ने देखिएको छ ।