देश

रूखलाई अँगाल्दै हिँड्ने केटी भन्छिन् : यसो गर्दा तनावमुक्त भइन्छ


काठमाडौँ – चिनियाँ एक महिला यतिबेला सामाजिक सञ्जालमा भाइरल छिन् । उनी भन्छिन्, ‘रूखलाई अँगालो हाल्नु मेरो शौख हो ।’ उनको विश्वास छ कि रूखलाई अँगालो हाल्दा तनावमुक्त भइन्छ ।

किशिशिकी नामकी ती महिला सांघाईको फरेस्ट पार्कमा रहेको एक हजार वर्ष पुरानो रूखलाई अँगालो हाल्दै भन्छिन्, ‘म यसो गर्दा आराम र आनन्द महसुस गर्छु ।’ सामाजिक सञ्जालमा मे २३ मा ‘रूखले मलाई आफ्नो अँगालोमा बेरेको छु क्याप्सनसहित उनले पोस्ट गरेको भिडिओ अहिलेसम्म २ लाख बढीले हेरिसकेका छन् । जहाँ उनले रूखलाई अँगालो हाल्दा आफूभित्रको बोझ कम हुने बताएकी छन् ।

एउटा लेखमा रूखलाई अँगालो हाल्दा आनन्द महसुस हुने र स्वास्थ्यका लागि पनि त्यो फाइदाजनक हुने पढेकी थिइन् । सोही लेख पढेपश्चात् उनी रूखलाई अँगाल्दै हिँड्न थालेकी हुन् । उनी घण्टौँ रूखलाई अँगालो हालेर बस्छिन् ।

गएको अप्रिलमा उनी आफ्ना पतिसँग मदिरा पिएर बसिरहेकी थिइन् । अलिकति लठ्ठिएपछि उनी सांघाईको सडकमा निस्किइन् र पहिलोपटक रूखलाई अँगालो हालिन् ।

त्यो न्यानो र आनन्ददायक अँगालोपछि आफू अन्य रूखहरू खोज्दै हिँडेको र हरेक दिन रूखलाई अँगालो हाल्दै हिँडेको बताउँछिन् । तर गम्भीर थेरापीका लागि यो विधि उपयुक्त नहुने सुझाव उनी दिन्छिन्।

उनी सहरिया युवती हुन् । तर कोभिडका कारण ३ वर्ष चीनमा भएको लकडाउनले आफूलाई प्रकृतिप्रेमी बनाएको उनी बताउँछन् ।
रूखलाई अँगाल्नु साँच्चै फाइदाजनक छ ?

मनोचिकित्सक डा. स्टोन क्रउसर रूख वा मानिस दुवैलाई अँगाल्नु शारीरिक र मानसिक रूपमा उत्तिकै फाइदाजनक भएको बताउँछन् । तर, कतिपयलाई मानिसको अँगालोमा बाँधिँदा सहज नलाग्ने हुँदा रूखलाई अँगालो हाल्नु पनि उत्तिकै फाइदाजनक भएको उनको भनाइ छ ।

२१ मिनेटसम्म रूख वा मानिसलाई अँगालो हाल्दा त्यसले अक्सिटोसिन हर्मोन वृद्धि हुने र यसले तनाव कम हुने उनले बताएका छन् । त्यसबाहेक आनन्द प्रदान गर्ने उनले बताएका छन् ।