Breaking

आजकाल विद्यार्थीले गुरूको ढाड खुस्काउँछ, सरकार मुद्दा फिर्ता गर्छ : अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरू कुट्ने संस्कृति हाबी हुँदै गएको बताएका छन् ।

बिहीबार काठमाडौँमा मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा ओलीले सभ्यताको दियो बाल्ने देशमा गुरू कुट्नेलाई सरकारले नै संरक्षण र प्रोत्साहन गर्नु खेदजनक भएको बताए ।

‘आजकाल गुरू कुट्ने संस्कृति छ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ, उनले भने, ‘प्रोफेसर कुट्न किन विद्यार्थीले नपाउने, मजाले पाउँछ भनेर कुट्छ, गुरू हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार ।’

उनले त्यस्ता व्यक्ति विद्यार्थीको नाम मात्रका भएका र असली विद्यार्थी पनि नभएको बताए । ‘त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन्, विद्यार्थी होइनन् । बाहिर सडकका हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ,’ उनले भने।

सरकारको काम खेदजनक रहेको बताउँदै उनको भनाइ थियो। गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् भएको भनाइ उनले राखे । प्राध्यापक कुट्नेहरूलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरू हुनै नसक्ने ओली बताए ।