Breaking

ललिता निवास प्रकरणः चार जना आरोपीलाई सात दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ — बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा हिजो मङ्गलवार पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आज (बुधवा) न्यायाधीश वासुदेव पौडेलको इजलासले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो पक्राउ गरेका सातमध्ये तीन जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि हिजै बेलुका छाडेको थियो । यस प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन फिर्ता गरेका कारण २०७८ सालको पुसदेखि रोकिएको अनुसन्धान पुनः शुरु गर्दै प्रहरीले हिजो सात जनालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान हुन बाँकी छ ।