Breaking

थाइल्यान्डविरूद्ध नेपालको सानदार जित


काठमाडौँ – मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपमा नेपालले थाइल्यान्डविरुद्ध २ सय २५ रनको सानदार जित दर्ता गरेको छ ।

नेपालले दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रन बनाउँदा अलआउट भयो । थाइल्यान्डका लागि इशान बनर्जीले १६ र दानुफोन फुयानग्योपिनितले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालको घातक बलिङसामु थाइल्यान्डका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । थाइल्यान्डलाई कम स्कोरमा रोक्न सन्तोष यादवले ३.२ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ५ विकेट झारे । अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिए । अविशेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर २ विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा बुधबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रनको योगफल तयार पारेको थियो । पहिलो विकेटका लागि ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १ सय १० रनको शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको थियो ।

सुर्यांशु ५५ बलमा ३ चौका मद्दतमा ४० रनमा जित सदाको बलमा बोल्ड आउट भए । ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका निरज कुमार यादव ७४ रन बनाउँदा क्याच आउट भए । इसान बानेजीको बलमा जित सदाको हातबाट निरज क्याच आउट भए ।

चौथो विकेटका लागि नरेन भट्ट र सन्तोष यादवले ७१ रनको साझेदारी गरे । नरेन ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहे। सन्तोष ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा बोल्ड आउट भए ।

कप्तान अभिषेक तिवारी १४, आशिष लुहार १३, दिपुकुमार ६ र अशोक धामी ५ रनमा आउट भए । थाइल्यान्डका निटपाखन मनुवुन, फनुवत देसुङनोएन र इशान बानेर्जीले समान २ विकेट लिए। जित सादा र पियावत नोद्रीले समान एकरएक विकेट लिए ।

थाइल्यान्डविरुद्ध जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ । नेपाल रहेको समूह एमा थाइल्यान्ड र मलेसिया छन् । समूह एबाट नेपाल र मलेसिया अन्तिम चारमा पुगेका छन् ।

समूहको पहिलो खेलमा मलेसियाले थाइल्यान्डलाई १ सय १८ रनले हराएको थियो । समूह चरणको दोस्रो खेलमा नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ । समूह बीमा सिंगापुर, हङकङ, इन्डोनेसिया र मालदिभ्स छन् ।