विदेश

रूसको मिसाइल आक्रमणबाट युक्रेनमा १ बालकसहित ४ जनाको मृत्यु


काठमाडौँ – रूसले युक्रेनका दुई सहर क्रेमेन्चुक र क्रामाटोर्स्कमा मिसाइल आक्रमण गरेको छ । मंगलबार युक्रेनका दुई सहर क्रेमेन्चुक र क्रामाटोर्स्कमा मिसाइल आक्रमण गरेको हो ।

स्थानीय समयअनुसार दुवै मिसाइल एकै समयमा साँझ ७:३० बजे आक्रमण गरिएको थियो । आक्रमणमा १ बालकसहित ४ व्यक्तिको मृत्यु भएको छ भने ४२ भन्दा बढी घाइते भएका छन् ।

समाचार एजेन्सी एएफपीले पुलिसलाई उद्धृत गर्दै रुसले एस-३०० मिसाइल आक्रमण गरेको जनाएको छ । डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोले युक्रेनमा आक्रमण सहरको मध्यभागमा भएको बताए । उनका अनुसार घाइतेको उद्धार एवं उपचारसहित खाद्यान्नको पनि व्यवस्था गरिएको छ ।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले टेलिग्राममा रूसले जानाजान बसोबास भएका क्षेत्रलाई निसाना बनाइरहेको बताएका छन् ।

यसअघि २०२२ जुनमा पनि रुसले घना बस्ती भएको क्रेमन्चेकु क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो । उक्त आक्रमणमा २२ जना मारिएका थिए ।