Breaking

संशोधन नै नगरी आर्थिक वर्षको बजेट पास हुँदै


काठमाडौँ — सत्तारुढ दलभित्रैबाट चर्को आलोचना भए पनि सरकारले आगामी आर्थिक वर्षको बजेट संशोधनविनै आज प्रतिनिधिसभाबाट पास गराउने भएको छ ।

विनियोजन विधेयकसहित मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिइसकेका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मातहतका कार्यालयको बजेटबाट उठेको प्रश्नको जवाफ दिएपछि बजेट पास गर्ने तयारी सरकारको छ ।

जेठ २२ देखि सुरू भएको बजेटमाथिको छलफलमा मात्रै नभएर बैठक नै बसेर यथास्थितिमा पारित गर्न नदिने बताएका दलहरू पनि बिनासंशोधन बजेट पारितका लागि तयार भएका छन् । बजेट पास गराउन सहमति जुटिसकेको कांग्रेसक नेताहरू बताउ छन् ।

सत्ता गठबन्धन दलहरूबीच बजेटमा नमिलेका विषय पछि सम्बोधन गर्दै जाने सहमति भएको छ । यसअघि विशेष गरी सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नदिने अडान राख्दै आएका थिए । तर अहिले नै बजेट संशोधन सम्भव नदेखिएको तथा प्रधानमन्त्री र अर्थमन्त्रीले आश्वासन दिएपछि त्यसलाई पारित गरेर जाने विषयमा सहमति जुटेको सत्तारुढ दलका सांसदहरूको भनाइ छ ।

बजेट पारित गर्ने विषयमा नेपाली कांग्रेस र मा‌ओवादी केन्द्रले ह्विप जारी गरिसकेका छन् । जसपा र एकीकृत समाजवादीले भने औपचारिकताका लागि आज छलफल गर्ने भएका छन् ।