Breaking

राष्ट्रसंघमा शान्ति विभाग हेर्ने उपमहासचिव आज नेपाल आउँदै


काठमाडौँ – संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपालको चार दिवसीय भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन् ।

नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । उपमहासचिव ल्याक्रोइक्सले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

नेपाल बसाइँका क्रममा उनीसंयुक्त राष्ट्रसंघ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी रहनेछन् । साथै, उनले पर्यटकीय महत्वका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसंघको विश्वशान्ति कार्यमा धेरै सेना पठाएर योगदान गर्ने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ । शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा छ ।

संयुक्त राष्ट्रसंघबाट माग भइआएको खण्डमा नेपालले १० हजार सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । संयुक्त राष्ट्रसंघले गत जेठ ३० देखि असार १ गतेसम्म सातौँ संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय संघ गोष्ठी गरेको थियो ।

संगोष्ठीमा राष्ट्रसंघका सहयोग कार्यसम्बन्धी विभाग हेर्ने उपमहासचिव अतुल खेरसहितका उच्च पदाधिकारीले भाग लिएका थिए ।