Breaking

युवाहरू लागुऔषधको प्रयोगमा फस्दा राष्ट्रिय लक्ष्य प्राप्तिमा समस्या : गृहमन्त्री


काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताएका छन् ।

सोमबार लागुऔषध दुरुपयोग गतथा अवैध ओसारपसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैउनले लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको बताए । गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागुऔषधका रुपमा प्रयोग गर्ने गरिएको पाइएको उनले बताए ।

‘लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको छ । गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन, बुप्रेनरफिम, डाइजिपाम लगायत तोकिएका नियन्त्रित पदार्थ लागुऔषधका रुपमा प्रयोग गर्ने गरिएको छ,’ उनले भने ।

उनले लागुऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको बताए ।

‘विभिन्न तथ्यांकहरुबाट लागुऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको छ। विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुव्र्यवहार फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुन्छ नै । यसबाट समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्त गर्नसमेत बाधा पुग्छ ।’

नेपालमा लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको तथ्यांकले देखाएको पनि उनले बताए । उनले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने बताए ।

‘स्वस्थ, सभ्य र अपराधमुक्त र समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न यसले बाधा गर्दछ्। लागुऔषध नियन्त्रणको प्रमुख निकाय अहिले गृह मन्त्रालय रहेको छ । अन्य सरकारी निकाय र विभिन्न संस्थाबाट समन्वय र सहकार्य हुँदै आएको छ,’ उनले भने, ‘सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य सुविधा र आर्थिक हीत कायम राख्नको लागि लागु औषधको उत्पादन, निर्माण, खरिदबिक्री, सञ्चय, ओसारपसरा र सेवन तथा निकासी पैठारीसमेतमा नियन्त्रण गर्न गृह मन्त्रालय लागुऔषध नियन्त्रण ऐन, २०३३ लाई कार्यान्वयन गर्न लागिपरेको छ ।’

लागुऔषध दुरुपयोगको रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएकाले संवद्ध निकायको समन्वय र सहकार्यबाट लागुऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा पुनःस्थापना, जोखिम न्युनिकरण, बिरामीको सामाजिक पुनःस्थापना जनचेतना मुलक अभियानको रुपमा सञ्चालन गरी तीन तहकै सरकारको नीति कार्यक्रममा मूल प्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक रहेको पनि बताए ।

लागुऔषध दुरुपयोग बिरुद्धको ऐक्यवद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता भन्ने नाराकासाथ यस वर्षको लागु औषध दुरुपयोग गतथा अवैध ओसारपसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजि कार्यक्रममा सचेतनामुलक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सो अवसरमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल लगायत कार्यक्रममा उपस्थित विद्यार्थीहरुले जनचेतना कार्यक्रम प्रश्तुती गरेका थिए ।